झापामा अक्सिजन बैंक थप प्रभावकारी बन्दै
– प्रदीप परियार
बिर्तामोड । झापामा कोभिड महामारीको बेला सुरु गरिएको अक्सिजन बैंक अहिले थप प्रभावकारी बनेको छ । एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंक अहिले जिल्लाभरका विरामीहरुले प्रयोग गरिरहेका छन् । मासिक सय थान अक्सिजन सिलिण्डर प्रयोग भइरहेको छ ।
अभियानले कोभिड महामारीमा संक्रमितहरुलाई सहजै अक्सिजन उपलब्ध गराउने उद्देश्यले थालनी गरेको बैंक अहिले पनि उत्तिकै प्रभावकारी भएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । उनका अनुसार हाल सहारा नेपालको केन्द्रीय कार्यालय, दमक र धुलावारीबाट अक्सिजन सुविधा दिइरहेको छ । अभियानले ५ सय थान अक्सिजन सिलिण्डर खरिद गरेर कोभिडबाट संक्रमितहरुलाई सेवा प्रदान गरेको थियो ।
कोभिडपछि सोही सिलिण्डहरु दीर्घरोगी, वृद्धवृद्धाहरु र अन्य विरामीहरुले नियमित प्रयोग गर्दै आएका छन् । बजारमा अक्सिजनका लागि २० हजारसम्म धरौटी राखेर प्रयोग गर्नुपर्ने बाध्यता छ । उक्त बाध्यतालाई एकका लागि एक अभियानले समाधान दिएको छ । सिफारिस लिएर आउनेहरुलाई धरौटी पनि नलिई प्रति सिलिण्डर ८ सयका दरमा उपलब्ध गराइरहेको गिरीको भनाई छ ।
एकका लागि एक अभियानको संयोजनमा खरिद गरिएको सिलिण्डरको व्यवस्थापनको पाटो सहारा नेपालले हेरिरहेको छ । त्यसको व्यवस्थापकीय जिम्मा सहाराका विकास घिमिरेले लिएका छन् । सहाराले व्यवस्थापन गर्दै आएको अक्सिजन सिलिण्डर सहित रेगुलेटर र पाइप समेत उपलब्ध गराउदै आएको जनाइएको छ । बिर्तामोड–१ निवासी मिना बस्नेतले ०७८ साल भदौदेखि अभियानकै सिलिण्डर प्रयोग गरिहरेकी छन् । दैनिक एक सिलिण्डर आवश्यक पर्छ, विकास घिमिरेले भने – उहाँहरुलाई यहिबाट आवश्यकता अनुसार सिलिण्डर दिइरहेका छौं ।
कोभिडपछि पनि आम नागरिकलाई अक्सिजनको उत्तिकै आवश्यक पर्ने भएपछि पालिका–पालिकामा अक्सिजन बैंक स्थापना गर्ने लक्ष्य राखिएको अभियानका संयोजक गिरीले जानकारी दिए । अहिले तीन स्थानबाट वितरण भइरहेको छ, अब जिल्लाभर सुविधा दिने योजनामा छौं ।
बुद्धशान्ति निवासी सकुन्तला गजमेरलाई समेत निमोनिया भएपछि नियमित रुपमा अक्सिजन प्रयोग गर्नुपर्ने भएको छ । उनका लागि एकका लागि एक अभियानले सिलिण्डर उपलब्ध गराउन थालेको छ । सिलिण्डर लिन परिवारको सदस्य मंगलवार सहाराको चारपाने स्थित कार्यालय पुगेका थिए । हालसम्म १६ सय पटक अक्सिजन सिलिण्डर प्रयोग भइसकेको छ ।
यता, अक्सिजन बैंकका संयोजक प्रशान्त भण्डारीले उद्देश्य अनुरुप काम भइरहेको जानकारी दिए । उनले अक्सिजन कै लागि अस्पताल बस्नुपर्ने बाध्यता हटेको छ । वृद्धवृद्धा वा जो कोहि विरामीले घर मै लगेर सिलिण्डर प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको भण्डारीले जानकारी दिए ।