प्रदेश संरचनालाई न्याय देऊ
सम्पादकीय
नेपाली कांग्रेसका नेता उद्वव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रत्यक्षमा पराजित थापा समानुपातिक सांसद भए । उनलाई पार्टीको प्रदेश सभापति हुनुले यो अवसर प्राप्त भयो । मुख्यमन्त्री बन्ने दोस्रो झापाली हुन, थापा । तर, झापामा खास उत्साह छैन । हिजो पनि झापा उत्साहित थिएन । र, आज पनि झापा मुख्यमन्त्री पाएकोमा उत्साहित छैन । किनभने आम नागरिकले प्रदेशको अनुभूति गर्न पाएको अवस्था छैन । प्रदेश संरचनाको औचित्य पुष्टि भएको छैन । नेताहरुका लागि लाभ बनेको हुन सक्छ, तर प्रदेश संरचना आम नागरिकको निमित्त लाभदायक बन्न सकेन ।
प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदा प्रदेशभर दीपप्रज्वनल हुनुपर्ने हो । त्यो खुशी किन प्रदेशवासीले मनाउन चाहिरहेका छैनन् । प्रदेशले नयाँ मुख्यमन्त्री हुँदा तामझामका साथ आम नागरिकले उत्साह मनाउनु पर्ने हो । प्रदेशको संरचनामा चित्त नबुझेकै कारण नागरिकमा उत्साह छैन । संघीयता आवश्यक नै हो । तर, प्रदेश संरचनाले न्याय पाउन सकेन । जबसम्म आम नागरिकले यसको अनुभुति गर्न सक्दैनन् तबसम्म प्रदेशको संरचनाप्रति कुनै उत्साह प्रकट हुने छैन । ठुला दलहका नेताहरु बोल्न मात्र सकिरहेका छैनन, खर्चको अवस्था र सेवाको अवस्था हेर्ने हो भने दर्दनाक छ । उनीहरु विपक्षमा बोल्न मात्रै सकेका छैनन । किनभने, बोलिसक्दा संघीयताको विरोधी भन्ने आउछ ।
ठुलो चुनौतिका बिच झापाका उद्वव थापा मुख्यमन्त्री बने । हिक्मत कार्की नेतृत्वको सरकार हटाइहाल्नुपर्ने कुनै कारण थिएन । तर, कोशी प्रदेशमा नामाकरणको सवाललाई राजनीतिकरण गरियो । सुरुमा कोशी प्रदेशको पक्षमा मत दिने कांग्रेस, माओवादी आन्दोलनरत पक्षका उभिए । नामकै सवालमा सरकारमाथि प्रहार गर्ने काम भयो । कोशी राख्दा विरोध नभए कोशीको पक्षमा उभिने, विरोध भए विरोध गर्नेहरुको पक्षमा उभिने कांग्रेस–माओवादीको राजनीतिक चरित्रले सरकार परिवर्तनको ठाउँमा पुग्यो । अब, यसै मामिलामा थापाको भूमिका के हुन्छ ? कोशी परिवर्तन हुन्छ ? पहिचानवादीहरुको माग पुरा हुन्छ ? यहि मुद्धाले थापाको मुख्यमन्त्रीकाल कठिन, जटिल र चुनौतिपूर्ण हुने निश्चित छ । थापाको कार्यकालमा प्रदेशको अनुभूति होला वा नहोला बाँकी दिन पर्खनैपर्छ ।