एसइईपछिको विषय छनौटमा ख्याल गरौं
– सम्पादकीय
पहिलेको एसएलसी अर्थात अहिलेको एसइई परीक्षाको नतिजा सार्वजनिक भएसँगै कक्षा ११ को अध्ययनका लागि विद्यार्थीहरु तयारी भएका छन् । कुन विद्यालय अध्ययन गर्ने र कुन विषय अध्ययन गर्ने भन्ने बारे विद्यार्थीहरु सोचिरहेका छन् । तर, पछिल्लो समय कक्षा १२ सम्म आफैले एसइई पास गरेको विद्यालयमा अध्ययन गर्न पाइन्छ । परीक्षाफलमा प्राप्त अंकका आधारमा विषय छनौट गर्ने मात्रै अहिलेको चिन्ताको विषय हो । एउटा बेला थियो, शैक्षिक जीवन कै खुशीकोको क्षण हुन्थ्यो एसएलसी । अहिले त्यस्तै क्षण बन्न सकेको छैन ।
एसइई एउटा मुख्य खुड्किलो चाही पक्कै हो । अबको शैक्षिक जीवन हिजोको भन्दा फरक ढंगले अघि बढ्छ । एसइई पास गरेका विद्यार्थीहरुले जीवन उपयोगी विषय रोजेर अध्ययन गर्नु ठिक हुन्छ । देशमा शैक्षिक वेराजगार उत्पाद बढिरहेको छ । फेरि बेरोजगारहरु नै उत्पादन हुने भन्दा पनि देशको लागि आवश्यक जनशक्तिको रुपमा आफुलाई विकास गर्नुपर्छ । सीपसँग जोडिएर जीवनलाई अघि बढाउन सक्ने विषयको छनौट गरेर आफ्नो अध्ययनलाई तय गर्नुपर्छ । त्यसो भएमा मात्रै बाँकी अध्ययनको अर्थ रहन्छ ।
कक्षा ११ र १२ अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु साथीभाईको लहैलहैमा लागेर विषय छनौट गर्ने गरेको पाइन्छ । साथीले रोजेको विषय आफु पनि अध्ययन गर्ने सोचबाट विद्यार्थीहरु मुक्त हुनुपर्छ । विगतमा अभिभावकको दवावबाट विषयहरु छनौट गरिन्थ्यो । अहिले साथीभाईको रोजाई अनुसार छनौट गर्ने गरिन्छ । यसैले सम्पूर्ण विद्यार्थीले आफु भविष्यमा कुन बाटो जाने हो त्यसै बमोजिमको विषय छनौट गर्नुपर्छ । त्यसरी आफ्नो अध्ययनलाई अघि बढाउन सकियो भने बेराजगार बन्नु पदैन । शैक्षिक योग्यता बोकर विदेश जानुपर्दैन । त्यसैले विषय छनौटमा विवेक पुराऔं ।