नगर अस्पतालमा निन्दनीय हर्कत
सम्पादकीय
झापाको बिर्तामोडमा एक दर्जन भन्दा धेरै नीजि अस्पतालहरु छन् । जहाँ पैसा भयो भने धेरै जटिल किसिमका रोगहरु उपचार गर्न संभव छ । अहिले त क्यान्सरको समेत बिर्तामोडमै उपचार संभव भइसकेको छ । बिर्तामोड अस्पतालको हब पनि मानिन्छ । सुविधा सम्पन्न अस्पतालहरु यहाँ सञ्चालनमा छन् । तर, गरिव विपन्नहरु स्वास्थ्य उपचार गर्न आर्थिक अवस्थाले गर्दा ठुला अस्पताल जान सक्दैनन् । गरिव, विपन्नका लागि सरकारी स्वास्थ्य संस्थाको विकल्प छैन । सरकारी स्वास्थ्य संस्थाहरुको अवस्था अझै दयनीय छ । उपचार भनेजस्तो पाइदैन । अर्थात, सरकारी स्वास्थ्य संस्था अझै नागरिकको निमित्त विश्वासिलो बन्न सकिरहेको छैन ।
आर्थिक रुपमा सवलहरु भन्दा पनि कमजोरका लागि बिर्तामोडमा सुविधा सम्पन्न सरकारी स्वास्थ्य संस्थाको आवश्यकता थियो । त्यसै आवश्यकतालाई मध्यनजर गरेर बिर्तामोड नगरपालिकाले नगर अस्पताललाई व्यवस्थित बनाउदै सञ्चालन गरिरहेको छ । गत वर्षसम्म सुनसान हुने सोही संस्थामा आज हरेक दिन ४ सय विरामीहरु उपचारका लागि जान थालेका छन् । बीमा सेवा मार्फत उपचार भइरहेको छ । ठुला अस्पतालले दिन सक्ने धेरै सेवाहरु नगर अस्पतालले दिन थालेको छ । नभएका सेवाहरु विस्तारै थप गर्दै जानुपर्छ । त्यस नगर अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउनुको विकल्प छैन । पछिल्ला घटनाहरु परिचालित छन् भन्ने अनुमान गर्न सकिन्छ । सरकारी स्वास्थ्य संस्थालाई कमजोर बनाउने चेष्टा भइरहेको छ ।
केहि महिनाअघि उद्घाटन गरिएको नगर अस्पतालमा अहिले सेवाग्राहीको चाप बढिरहेको छ । स्वास्थ्य सेवा राम्रो भएकै कारण नागरिकको चाप दिनहुँ बढ्दो छ । तर, अस्पतालमा केहि अभियान्ताको नाममा भइरहेको तमासा निन्दनीय छ । युवा नागरिक समाजको उपाध्यक्ष भनिने बिर्तामोडका देव संग्रौलाले अस्पतालभित्र गरेको असभ्य हर्कतको सर्वत्र आलोचना भइरहेको छ । कानुनी राज्यमा उनको हर्कत दन्डनीय छ । उनले यसअघि गरेका हर्कतहरु पनि अस्पतालका निमित्त शोभनीय छैन । अस्पतालको तर्फबाट निर्वाह गर्नुपर्ने कुनै जिम्मेवारीमा कसैले तलमाथि गर्छ भने कारबाहीको भागेदार बन्नुपर्छ । त्यस प्रकारका स्वास्थ्यकर्मी र कर्मचारीलाई कारबाही गर्न सकिन्छ । तर, कथित अभियान्ताको नाममा संवेदनशील स्वास्थ्य संस्थामा गई अभियानको नग्नता प्रदर्शन गर्न मिल्दैन । गलत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्ने व्यवस्था हुदाहुदै कथित अभियान्ताले गरेको हर्कतको समर्थन गर्नेहरु सबै कुपात्र पात्र हुन् । समाजलाई सुन्दर बनाउछु भन्नेको दृष्टिकोण सकारात्मक हुनुपर्छ । कथित अभियानका नाममा अराजकता मच्चाउनेहरुलाई कारबाही गरियोस् ।