डिप्रेसन समस्यालाई वेवास्था नगरौं
सम्पादकीय
झापाको गौरादहमा मंगलवार विहान एक युवाले आत्मदह गरे । बुबा, आमा सुतेको कोठा बाहिरबाट ताला लगाएर युवाले आफ्नो कोठाभित्र पनि ताला लगाएको अवस्थामा भेटियो । ३५ वर्षको उमेर आत्मदह गर्ने सोच सामान्य विषय होइन । प्रहरीको नोटमा उल्लेख भए अनुसार युवा डिप्रेशनमा थिए । नेपालीमा समाजमा यस प्रकारको समस्या बढेको बढ्यै छ । तर, कसैले पनि चासो दिइरहेका छैनन् । सबैलाई घर जोडनु छ । सम्पत्ति जोड्नु छ । परिवारमा कसको अवस्था के छ, कसैले चासो दिइरहेको छैन ।
डिप्रेसनका कारण गौरादहका युवाले अपनाएको मृत्यु धेरैले अपनाइरहेका छन् । तर, हाम्रो समाजमा डिप्रेशनको समस्या बारे खासै सोधीखोजी र निराकरण अपनाएको पाइदैन । रुन मन लाग्ने, निराश हुने, एक्लै बस्न रुचाउने, झर्को लाग्ने, दिक्क मान्ने, बोल्न मन नलाग्ने, छटपटी हुने, हातखुट्टा झमझम गर्ने, पैताला पोल्ने, तालु पोल्ने, मुख सुक्ने, आत्मग्लानि हुने, नकारात्मक सोचाइ, निद्रा कम पर्ने, खानामा रुचि नहुने, आफूलाई निकम्मा सम्झने, मर्न पाए हुन्थ्यो भन्ने, बारम्बार रुने, शंका लाग्ने, कानमा आवाज आएको अनुभूति हुने लगाएतका लक्षण देखिने गर्छन् । कतिलाई भने जो मानिस देख्यो उही पागलजस्तो लाग्ने हुन्छ भने कतिलाई आफूलाई मानसिक समस्या छ जस्तो अनुभूति हुन्छ । मनोविश्लेषकहरुका अनुसार कतिपय मानिस आफैँ डिप्रेसनमा गएँ कि भन्दै उपचार खोजिरहेका हुन्छन् ।
यस प्रकारको समस्याबाट सुरक्षित रहन सकिन्छ । डिप्रेसनको अवस्थामा मनमा एउटै कुरा घुमाइरहनु हुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ । कुनै नराम्रो अनुभव मनमा लिइरहँदा मस्तिष्कमा समेत असर पु¥याउँछ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने । मन भुलाउने प्रयत्न गर्नुपर्छ । त्यस्तै निन्द्रालाई नियमित राख्ने, स्वस्थ खाना समयमै खाने, तनाव सबैलाई हुन्छ तर यसलाई कसरी कम गर्न सकिन्छ त्यसबारे सोच्ने, आफूले जति सकिन्छ त्यति नै महत्वाकांक्षा राख्ने, परिवारसँग बस्ने, आफ्नो काममा व्यस्त र मस्त रहने गर्नुपर्छ । सरोकारवालाहरुले यस बारे आम नागरिकसँग खुला छलफल गर्नुपर्छ । निवारणका लागि प्रयास गरिनुपर्छ ।