जनप्रतिनिधि-कर्मचारी टकराव बन्द गर
सम्पादकीय
झापाको बिर्तामोड नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीचको टकराव सतहमा आएको छ । खासगरी वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईको आन्दोलनले दुई पक्षबीचको टकरावलाई सतहमा ल्याइदियो । वडा सचिव विमल पोखरेलले समय अनुशासनको पालना नगरेको भन्ने वडाध्यक्षको गुनासो थियो । समयमा कार्यलयमा उपस्थित नहुने र समयभर नागरिकलाई सेवा नदिने आरोप वडा सचिव माथि लागेको थियो । तर, वडाका कुनै सेवाग्राहीले सेवा नपाएको गुनासो बाहिर सार्वजनिक गरेनन् । धेरैले वडाध्यक्षसँग गुनासो राखेको हुनुपर्छ ।
कुनै पनि क्षेत्रमा समयको पालना अत्यन्त जरुरी छ । नेपाली समाज समयलाई वेवास्था गरिरहेको छ । समयलाई व्यवस्थापन गर्नेहरु धेरै माथि पुगेका छन् । समयको पालना भनेको प्रगतिको मार्ग पनि हो । यसैले वडाध्यक्ष प्रसाईले उठाएको सवाल जायज छ । तर, विधि ठिक भयो वा भएन यसको समीक्षा गर्नुपर्छ । वडाध्यक्षले वडा सचिव विरुद्ध गरेको रचनात्मक आन्दोलनले समय पालनाको सन्देश प्रवाह गरेको छ । त्यसले वडा सचिवहरुको मानमर्दन भएको उनीहरुको ठहर छ । वडा सचिवहरुले उक्त प्रकरणका विरुद्ध आन्दोलन नै सुरु गरेका छन् ।
जनप्रतिनिधि र कर्मचारीबीच हदैसम्मको समन्वय र सहकार्य हुन आवश्यक छ । समन्वय र सहकार्य हुन सकेन भने नागरिकले दुख झेल्नुपर्छ । वडा सचिवले समयको पालना नगरेको हो भने अब त्यसलाई सच्याउनुपर्छ । समयको पालना गरेर कार्यालयमा जिम्मेवार हिसावबाट नागरिकलाई सेवा प्रदान गर्नैपर्छ । वडा सचिव पनि लोक सेवा पास गरेर आएको हुँदा जनप्रतिनिधिहरुले हेयको दृष्टिले हेर्न हुदैन । जनप्रतिनिधिहरु पनि नागरिकको एक मात्र भरोसाको केन्द्र भएकाले काम कारबाहीमा कर्मचारीको तर्फबाट सहयोगको खाँचो हुन्छ । जनप्रतिनिधिहरुले नागरिकबाट हरेक पल गाली खाइरहनुपर्छ । त्यसैले सबै जवाफदेही बन्नैपर्छ । नीतिगत समाधान गर्नेहरु धर्नामा बस्न हुदैन । कर्मचारीहरु पनि खटाइएको ठाउँमा जान्न भन्न पाइदैन । मिलेर नागरिकको सेवामा प्रतिवद्ध बन्नुहोस् ।