बिर्तामोडमा रात्रीकालिन गस्ती बढाऊ
सम्पादकीय
झापाको मुख्य बजार बिर्तामोडमा फेरि चोरको विगविगी भएको छ । हरेक दिन चोरीका घटना भइरहेका छन् । घर फुटाएर चोरी गर्नेदेखि फलामका ढकन र ग्याससहितको सिलिण्डर चोरीका घटना तीब्र गतिमा भइरहेको छ । एक वेला मोटरसाइकल चोरीको हैरानी सहेका यहाँका नागरिक अहिले ग्यास चोरीको हैरानी खेपिरहेका छन् । बिर्तामोडका ग्यास डिलरहरुमा चोरको त्रास छ । वितेको ४-५ महिनामा दर्जनौ सिलिण्डर चोरी भएका छन् । व्यवसायीहरु चोरका कारण हरेक दिन जोखिमपूर्ण रात व्यतित गरिरहेका छन् ।
यहाँको बजार, समुदायको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायसँगै सर्वसाधरणको पनि हो । आम नागरिकहरुले समुदायको सुरक्षाका लागि आफ्ना तर्फबाट प्रयास गर्नुपर्छ । प्रहरी कै मात्र भर परेका कारण यस प्रकारको क्षति व्यहोर्नु परेको छ । प्रायः सबै जसो ग्यास डिलरबाट सिलिण्डर चोरी भइरहेको अवस्था छ । अभलै पनि चोरी नियन्त्रण भइरहेको छैन । चोरी नियन्त्रणका लागि सुरक्षा निकायले गस्तीलाई बढाउनै पर्छ । गस्ती प्रभावकारी नभएकै कारण प्रहरी कार्यालय नजिकैबाट चोरी भइरहेको हो । बिर्ता बजार प्रहरी चौकी नजिकैबाट शनिवार विहान ८ वटा सिलिण्डर चोरी भयो । यस्ता धेरै घटना छन् ।
हरेक व्यवसायीले आफ्नो सामानको सुरक्षा अपनाउनुपर्छ । सीसी क्यामेराको व्यवस्थापन गर्नैपर्छ । सकभर सुरक्षा गार्ड राखेर टोलको सुरक्षामा ध्यान दिनुपर्छ । बिर्तामोड नगरपालिका वडा नं.१ मा तीन वटा टोलका युवाहरुले रातीको गस्ती गरिरहेका छन् । गाउँको सुरक्षाका लागि संयुक्त दस्ता बनाएर गरिएको गस्तीले नागरिक सुरक्षा प्रत्याभूत भइरहेको छ । अब प्रहरी र समुदायको सहकार्यमा सुरक्षा व्यवस्थापन मिलाउनुपर्छ । सधैं चोरी भयो भन्दै प्रहरीमा निवेदन दिदैं बसेर मात्र यो समस्याबाट समाधान हुदैन । सुरक्षामा सबै सरोकारवालाले चासो दिएर सुरक्षित बिर्तामोड बनाउन आवश्यक छ ।