जेष्ठ २, २०८२ बिहीबार

कनकाईको सह्रानीय कदम

सम्पादकीय
झापाको कनकाई नगरपालिकाले साउन १ गतेबाट सुर्तिजन्य पदार्थको विक्री र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाएको छ । योजना महत्वकांक्षी भए पनि नागरिकको जीवनलाई ख्याल गरेर यो निर्णय गरिएको हुनुपर्छ । नागरिकको स्वास्थ्य सुरक्षा गर्ने दायित्व स्थानीय सरकारको हो । हुनत, धेरैलाई यो निर्णय मन नपरेको हुन सक्छ । तर, यसलाई आम नागरिकको स्वास्थ्यका निमित्त धेरै भन्दा धेरै महत्वपूर्ण छ । स्थानीय सरकारले गर्ने कामभित्रको यो योजनालाई कनकाईले कुनै पनि हालतमा सफल बनाउनुपर्छ । यसले पुस्तौपुस्ताका लागि दीर्घकालिन अर्थ राख्नेछ ।

विगत देखिको लत छुटाउन गाह्रो हुन्छ भन्ने धेरैको धारणा बन्न सक्छ । तर, नयाँ परिवर्तनका लागि हरेक समाधान खोज्नैपर्छ । जो कोहिले अभियानलाई सहयोग गरेर सफल बनाउनै पर्छ । आज जनप्रतिनिधिहरुले काम गरेनन् भनेर आलोचना गर्ने गरिन्छ । कनकाईले सयौं काम बराबरको काम गरेर देखाएको छ । यस कामका लागि कनकाईका जनप्रतिनिधिहरु धन्यवादका पात्र हुन् । नेपाली समाज धुम्रपान, मद्यपानले गलत बाटोमा गइरहेको छ । ससाना बालबालिकाहरु खुलेयाम होटल छिरेर हुक्का तान्न थालिसके । बाल उमेरमै आज हुक्का तान्नेहरु भविष्यमा के–के तान्न तयार बन्नेछन्, अनुमान गरौं ।

झट्ट हेर्दा, कनकाईले यो योजनालाई सफल बनाउला भन्ने धेरै आशंका पनि छ । तर, असंभव पनि छैन । स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै गरेको निर्णय कार्यान्वयन हुनैपर्छ । जसले उक्त निर्णय विरुद्ध काम गर्छ त्यसलाई एक चान्स पनि दिन हुदैन । यदि, त्यो गल्ती कनकाईका व्यापारी र नागरिकले गरे भने अभियान असफल हुनेछ । लागुऔषधले चौपट बनाइरहेको समाजमा सुर्तिजन्य पदार्थको विक्री रोक्ने प्रयास सह्रानीय छ । अब सँगसँगै कनकाईभित्र लागुऔषध प्रयोग र कारोवारीमा संलग्नलाई नगरपालिकाले नै कानुनी दायरामा पुराउन सहयोग गर्नुपर्छ । व्यापारीहरुले अर्कोले के गर्दैछ भन्ने दोष देखाउने भन्दा पनि आफै विक्री बन्द गरेको घोषणा गरेर नगरपालिकालाई सहयोग गनुर्पर्छ । बालेन र हर्कले गरेको निर्णय राम्रो देख्ने नगरबासीले आफ्नै नगरका जनप्रतिनिधिहरुको निर्णयलाई सफल बनाउन जिम्मेवार हुनैपर्छ ।

प्रकाशित मिति : श्रावण २, २०८० मंगलबार  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]