सवारी चलाउदा लापरबाही नगरौं
सम्पादकीय
झापामा सवारी दुर्घटना हरेक महिना बढिरहेको छ । दुर्घटनासँगै कारबाही पनि बढ्दै गएको छ । दुर्घटना न्यूनिकरण गर्न सवारी चेकजाँचलाई बढाइएको छ । दुर्घटनामा मृत्यू हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणका लागि चेकजाँच बढाउँदा समेत चालकहरुले लापरबाही गर्न छोडेका छैनन् । जिल्लामा एम्बुलेन्स चालक समेतले मादक पदार्थ सेवन गरेर चलाइरहेको भेटिएका घटना छन् । जो अभद्र मुद्दामा कारवाहीमा समेत परे । दुर्घटना न्यूनिकरणका लागि आम नागरिक नै सचेत बन्नुपर्छ ।
सवारीमध्ये सबैभन्दा धेरै मोटरसाइकल कारबाहीमा परेका छन् । सो अवधिमा १८ हजार ७१८ वटा मोटरसाइकल कारबाहीमा परे । झापामा गत आवमा मादक पदार्थ सेवन गरेका चालकलाई गरेको कारबाहीबाट मात्र २० लाख ९६ हजार रुपैँया राजश्व संकलन भएको छ । २ हजार ९६ वटा सवारी साधन मापसे कारबाहीमा परेका छन् । यसले सवारी सञ्चालनमा लापरबाही भएको स्पष्ट छ । ट्राफिक जनचेतनामुलक कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थी, नयाँ सवारी चालक तथा सर्वसाधारणलाई कक्षा सञ्चालन, पर्चा पम्प्लेट वितरण गर्ने, ट्राफिक सप्ताहका कार्यक्रम गर्ने, गोष्ठी तथा अन्तरक्रिया गर्दा समेत नागरिकमा सतर्कता छैन । यो अवस्थामा आम नागरिक सतर्क नभएसम्म सवारी दुर्घटना न्यूनिकरण गर्न सकिदैन । सबै सतर्क बनौं ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आर्थिक बर्ष ०७९-८० मा ३ करोड ९५ लाख ५६ हजार राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले ५८ हजार २६ वटा सवारी साधनलाई कारबाही गरेको छ । सबैभन्दा धेरै असार महिनामा गरिएको ७ हजार ७२६ वटा सवारी साधन कारबाहीबाट ५० लाख ४२ हजार राजश्व संकलन भयो । साउन महिनामा सबैभन्दा कम राजश्व संकलन भयो । साउनमा ३ हजार १५० वटा सवारी साधन कारबाहीमा पर्दा २२ लाख ९१ हजार रुपैँया राजश्व रकम संकलन भएको छ । यसैले आर्थिक रुपमा र आफ्ना जीवन सुरक्षाका लागि विशेष ख्याल गरौं ।