सहकारीको वेथिती सच्याउने दायित्व
सम्पादकीय
झापाको सहकारी अभियान देशभर चर्चित छ । सहकारी संख्या र सहकारी आन्दोलनमा झापा अग्रस्थानमा छ । यहाँ सहकारीको योगदान चर्चा गर्न योग्य छ । देशमै चर्चा कमाएको सहारा नेपाल, मेची सहकारी र एनएमसी सहकारी झापामा छन् । देशभर सहकारीको वेथिती चर्चा भइरहदा पनि झापामा अहिलेसम्म सुनसान छ । सहकारीको वेथिती बाहिर आउन सकेको छैन । सहकारीका सदस्यहरुले सहकारीको वेथितीलाई बाहिर नल्याएका हुन् वा वेतिथी नभएको हो ? झापामा सहकारीभित्र ठुलो मतभिन्नता बाहिर देखिएको छैन । तथापि, केहि सहकारीहरुले एलायन्स भने बनाएका छन् ।
देशमै नाम कमाएको एनएमसी सहकारी संस्थाले भर्खरै एउटा कामबाट आफुलाई पछि सारेको छ । सदस्य कल्याणकारी कोषमा सदस्यहरुको अनुमति विना नगद रु ७००/– रकमान्तर गरेको घटना आलोच्य बन्यो । सदस्यहरुको बचतबाट नगद झिकेर कोषमा जम्मा गर्ने एनएमसीको नियत बेठिक थिएन । तर, सदस्यहरुका लागि प्रक्रिया बेठिक भयो । सदस्यहरुलाई सोही कोषमा आवद्ध हुन आव्हान गरेर सदस्य बनाउन सकिन्थ्यो । तर, सहकारीले आफुखुशी रकमान्तर गरेको विषयलाई अधिकांशले पचाउन सकेनन् । सदस्यको मृत्यू हुँदा ५० हजार र परिवारमा आमाबुवा वा छोरा छोरीको निधनमा १० हजार सहयोग गर्ने कार्यक्रम नै वेठिक थिएन । सबै सदस्यलाई कोषमा समान अधिकार दिन गरिएको प्रयत्न ठिक थियो । प्रक्रिया बेठिक भएका कारण नगद सदस्यकै खातामा फिर्ता गरिएको छ ।
एनएमसीको सदस्य कोष प्रकरणले सहकारीभित्रको काम कारबाही बारे सदस्यहरु समेत सचेत हुने मौका पाएका छन् । सदस्यहरुको सर्वाधिकार हुने सहकारी संस्थामा सञ्चालकहरुको मनोपली हुन सक्छ । सहकारीलाई थितीको बोटामा हिडाउने जिम्मा सदस्यहरुकै हो । समयमै ठिक बाटो हिडाउन सकियो भने कसैलाई दोष दिनुपर्दैन । एनएमसीमा सदस्यहरुको असमतिकै कारण उक्त निर्णयबाट संस्था पछि हटेको छ । सहकारीहरुले विभिन्न व्यापारमा लगानी गरिरहेका छन् । विभिन्न व्यापारमा लगानी गर्न सदस्यहरुको अनुमति छ कि छैन ? छ भने, उक्त लगानीबाट प्राप्त मुनाफा सदस्यहरुले पाइरहेका छन् कि छैनन् ? अब खोजी गर्न ढिलाई गर्न हुदैन । संस्थालाई सहि बाटोमा हिडाउने जिम्मा सदस्यहरुको हो । वेथिती सच्याउने दायित्व पनि सदस्यहरुकै हो ।