अर्जुनधाराधामले शुल्क नलियोस्
सम्पादकीय
झापाको पवित्र धार्मिक स्थल एवम् पुर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा धाम शिघ्र दर्शनका नाममा विवादमा आएको छ । शिघ्र दर्शन गराए वापत २ सय देखि ५ सय रुपैयाँसम्म लिने अर्जुनधारा जलेश्वर धामको निर्णयको चौतर्फी आलोचना भइरहेको छ । गत सोमवारदेखि शुरु भएको शिघ्र दर्शनका नाममा शुल्क लिने काम अबको सोमवार आउनुभन्दा पहिले सच्याउनुपर्छ । अर्जुनधारा धाम आस्थाका हिसावले ठुलो मन्दिर हो । तर, संरचनागत दृष्टिले सानो मन्दिर हो । जहाँ शुल्क तिर्ने र निशुल्क दर्शन गर्नेहरुका लागि अलग व्यवस्था गर्न प्राविधिक हिसावले पनि कठिन हुन्छ ।
मन्दिरलाई दानको खाँचो हुन्छ । हरेक मन्दिरहरु दान, भेटीबाटै सञ्चालन हुने हुन् । तर, स्वतःस्फुर्त गरिने दान र शिघ्र दर्शनका नाममा लिइने दान फरक विषय हो । अझ जलेश्वर धामको निर्णयले भक्तालुहरुमा पक्षपात गरेको छ । हरेक मन्दिरका लागि भक्तजनहरु बराबर हुन् । समितिले भक्तजनहरुलाई अगल–अगल बनाएको छ । सबै भक्तजनलाई हतार हुन्छ । तर, सबै भक्तजनसँग दुई सय तिर्न सक्ने अवस्था नहुन सक्छ । कतिपय भक्तजनलाई २ सयमा धाममा पुजापाठ गरेर आउने, जाने सबै खर्च पुराउनुपर्ने बाध्यता पनि हुन्छ ।
अर्जुनधारा जलेश्वर धामले शिघ्र दर्शनका नाममा लिने शुल्क व्यवहारिक छैन । किनभने, साघुरो ठाउँमा रहेको मन्दिरमा लाइन बस्नेहरुलाई पन्साएर सिमित भक्तजनलाई दर्शन गराउने कुरा बेठिक छ । यसैले तत्काल धामले यो निर्णय सच्याउनुपर्छ । हतारमा रहेका भक्तजनसँग किन शुल्क लिनु ? उनीहरुको बाध्यता बुझिदिने धाम समितिले शुल्क नलिई दर्शन गराउन सक्दैन ? शुल्क लिएरै शिघ्र दर्शन गराउने हो भने धामले व्यापार गरेको बाहेक अन्य केहि बुझ्न सकिदैन । २ सय बुझाउन नसक्नेहरु सधै लाइनमा बस्नैपर्ने र बुझाउन सक्नेहरु तुरुन्तै दर्शन गरेर जान पाउने व्यवस्थाले भक्तजनको बीचमा विभेद खडा गरेको छ ।