डेंगीको महामारीबाट बचौं
सम्पादकीय
नेपालका विभिन्न जिल्ला सहित छिमेकी राष्ट्र भारत र बंगलादेशमा अहिले डेंगीको महामारी छ । नेपालका विभिन्न जिल्लाहरुमा समेत डेंगीको भयावह अवस्था बन्दै गइरहेको छ । धरानमा अलग्गै वार्ड बनाएर उपचार व्यवस्था मिलाइएको छ । झापामा समेत पाँच दिनमा १२ जनामा डेंगीको संक्रमण फेला परेको छ । साउन १–५ गतेसम्म ४ महिलासहित १२ जनामा डंगी देखिएको हो । लामखुट्टेको टोकाईबाट संक्रमण हुने डेंगीको नियन्त्रणमा हरेक नागरिकले ख्याल गर्नुपर्छ । घर वरपर खाल्डाखुल्डी पुर्ने, सुत्दा अनिवार्य झुलको प्रयोग गरेमा डेंगी संक्रमण हुदैन ।
सुनसरीस्थित धरानमा संक्रमण दर उच्च भइरहेको बेला यहाँ पनि विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ । केहि महिनाअघि झापामा डेंगी कै कारण मृत्यू भएको घटना समेत छ । यसैले डेंगीको सन्दर्भमा लापरबाही नगरौं । एकपटक डेंगी लागेकामा यो भाइरल संक्रमणबाट प्रतिरोधात्मक क्षमता हुँदैन । यस अवस्थामा जब संक्रमितलाई दोस्रो पटक डेंगी हुन्छ, गम्भीर रुपमा प्रभावित हुने सम्भावना बढी हुन्छ । समयमै चनाखो भएन भने ज्यान समेत जान सक्ने भएकाले विशेष ख्याल गरौं । यदि डेंगुको संक्रमण गम्भीर छ भने यसले फोक्सो, कलेजो र मुटुलाई असर गर्न सक्छ । रक्तचाप धेरै कम हुन सक्छ । चरम अवस्थामा यो घातक पनि हुन सक्छ । डेंगीको संक्रमण गम्भीर हुँदा शरीरमा धेरै जटिलताहरू आइपर्न सक्छ ।
डेंगीबाट सुरक्षित हुनलाई वरपर पानी जम्मा नहुने कुरा सुनिश्चित गर्नुपर्छ । कूलरको पानी परिवर्तन गरिरहनुपर्छ । पानी छोपेर राख्नुपर्छ । किनकि पानीमा लामखुट्टेले अण्डा पार्छन् । कुलर मात्र होइन, कतै पनि पानी जम्न दिन हुदैन । खुला पानीको स्रोत छ भने, त्यसलाई छोप्नुपर्छ र उपयुक्त कीटनाशक प्रयोग गर्नुपर्छ । डेंगीको कुनै खास औषधि वा सही उपचार उपलब्ध छैन । डाक्टरले ज्वँरो र दुखाइ नियन्त्रण गर्न प्यारासिटामोल जस्ता दुखाई कम गराउने औषधिहरू लेख्न सक्छन् । तर, शरीरलाई लामखुट्टेको टोकाईबाट बचाई राख्नु डेंगी नियन्त्रणमा राख्ने सबैभन्दा महत्वपूर्ण उपाय हो । यस्तो अवस्थामा सफा पानी पर्याप्त मात्रामा पिउनुपर्छ । तर, गम्भीर लक्षण देखा परेमा बिरामीहरूलाई तत्काल अस्पताल भर्ना गर्नुपर्छ ।