शहिद नेत्र पार्कको लगानी डुब्न नदेऊ
सम्पादकीय
नेपाल सरकारको सय गन्तव्यमा परेको झापा बिर्तामोड वडा नं. ७ मा रहेको शहिद नेत्र पार्क अहिले सुनसान छ । निर्माणको क्रममा राष्ट्रिय चर्चा कमाएको पार्कले पर्यटनको मुख्य गन्तव्य बनाउने छ भन्ने ठुला आशा थियो । तर, पार्क क्षेत्र अहिले अलपत्र बनेको छ । निर्माण समितिको वेवास्था र वन समितिको संरक्षण अभावले करोडौंको संरचना प्रयोग विहीनको अवस्थामा पुगेको छ । निकै चर्चा गरिएको पार्क अब केहि समयमा जंगलले पुरिदैछ । कम्युनिष्ट शहिद नेत्र घिमिरेको स्मृतिमा निर्माण गरिएको पार्क वेवारिसे बनेको छ ।
सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिभित्र रहेको शहिद नेत्र पार्क ठुला राजनीतिक नेताको छत्रछाँयामा थियो । बजेट प्राप्त हुञ्जेल काम गरेका नेताहरु अहिले पार्क कस्तो अवस्था छ भनेर हेर्न पनि पुग्दैनन् । झापा विद्रोहका नेता, एमालेमा जीवन दिएका तर अहिले एमाले छोडेका पुराना कम्युनिष्ट नेता नरेश खरेलको अगुवाईमा बनेको पार्क विल्लीबाठ बन्न पुगेको छ । राजनीतिक रुपमा शहिद नेत्र घिमिरे खरेलका सहपाठी नै हुन् । उनै सहपाठीको नाममा खरेलले पार्क निर्माण गरेर अपलत्र बनाएका छन् । त्यसको निर्माणमा खरेलले पाउने श्रेयभन्दा अलपत्र बनाएको दोष धेरै खेप्नु परेको छ ।
२०७१ सालदेखि निर्माण प्रारम्भ गरिएको पार्कमा हालसम्म करिव तीन करोड लगानी भइसकेको छ । तीन करोड लगानी भएको संरचनाले आज एक पैसाको आम्दानी गर्न सकेको छैन । आम्दानी त टाढाको विषय भयो, संरक्षण समेत हुन सकेन । लाखौं रुपैयाँमा निर्माण गरिएको डाइनोसरको पेटमा ठुलो प्वाल पारेर त्यहाँको सामग्री चोरी भइसकेको छ । स्वीमिङ पुल निर्माण गरेर लथालिङग छोडिएको छ । समग्रमा शहिद नेत्र घिमिरेको नाम नै अपमान हुने गरी गरिएको काम माफी योग्य पनि छैन । शहिदको सपना पुरा गर्छौ भन्दै भाषण गर्ने नेताहरुबाट एउटा पार्क समेत संरक्षण एवम् सञ्चालन हुन नसक्नुले उनीहरुको राजनीतिक क्षमतामाथि प्रश्न उठेको छ । अब, पार्कलाई वन समितिले सञ्चालन गर्नुपर्छ । त्यहाँ गरिएको करोडौं लगानी डुब्न दिन हुदैन । त्यसका लागि स्थानीय तहको सहयोग हुनुपर्छ । पार्क सञ्चालकनको लागि तत्कालै सरोकारवालाबीचमा समन्वय र सहकार्यको जरुरी देखिन्छ । राज्यको ठुलो लगानी डुब्न नदिनका लागि पार्क सञ्चालन गर्नैपर्छ ।