विप्लप समूहको नाममा आतंकित हुन नपरोस्
सम्पादकीय
सामाजिक रुपमा देखिएका समस्या र विकृतिहरुको समाधानमा राजनीतिक ढंगबाट सहजीकरण हुनुपर्छ । धेरै जसो समस्याहरु समाधानका लागि राजनीतिक नेतृत्वको भूमिका हुन्छ । सामाजिक एवम् राजनीतिक रुपमा समाधान खोजिएका विषयहरु पुनः उठान हुदैनन् । अर्थात, दीर्घकालिन समाधान भएर जाने संभावना हुन्छ । समाजमा अनेकौं समस्याहरु विद्यमान छन् । तमाम विकृतिहरु पनि छन् । त्यसको समाधान भनेको फेरि पनि सभ्य र मर्यादित ढंगबाट हुनुपर्छ । पछिल्लो समय झापामा खासगरी वित्तीय संस्थाहरुसँग जोडिएका कतिपय घटनाहरुमा नेकपा विप्लप समूहको सक्रियतालाई बेठिक ठिक ढंगबाट हेरिएको छैन ।
झापा जिल्ला सहकारी संघले विप्लप समूहको नाममा भइरहेको गतिविधि विरुद्ध आवाज उठाएको छ । विप्लप समूहको नाममा कर्मचारीहरु धम्क्याउने, थर्काउने कामको विरोध जनाएको संघले त्यस प्रकारको गतिविधि सच्याउन सूझाव समेत दिइसकेको छ । एकातिर समाजले देख्ने काम गर्ने र भित्रभित्रै अराजक गतिविधि गरिरहेको चौतर्फी आरोप विप्लप समूहका नाममा लागिरहेको छ । विप्लप समूहले पैसा उठाउन यस प्रकारको गतिविधि गरिरहेको आरोप छ । यसको सत्यता विप्लप समूहले पक्कै सार्वजनिक गर्नेछ ।
यदि विप्लप समूहबाटै यस प्रकारको काम भइरहेको छ भने तत्काल सच्याउनुपर्छ । र, विप्लप समूहको नाममा अरु कसैले यस प्रकारको गतिविधि गरिरहेको छ भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । विप्लप समूहले कसैलाई पनि दुःख दिन हुदैन । दुःखमा परेकाहरुलाई साथ दिनुपर्छ । वित्तीय संस्थाहरुले कमिकमजोरी गरेको खण्डमा रचनात्मक खवरदारी गर्न सकिन्छ । तर, कर्मचारीहरु धम्क्याउने थर्काउने कार्य फेरि पनि वेठिन नै हुन्छ । सामाजिक रुपमा विप्लप समूहसँग आम नागरिकले साथ सहयोगको अपेक्षा गर्न पाउनुपर्छ । सबैले विप्लप समूहका नाममा आतंकित हुने अवस्थाको अन्त्य गर्नैपर्छ ।