जेष्ठ २, २०८२ बिहीबार

चार वर्षे स्नातकको बहस

सम्पादकीय
नेपालमा स्नातक तहलाई चारवर्षे बनाइएको एक दशक पनि पूरा नहुँदै यसको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक तथा उप–प्राध्यापकहरूले चारवर्षे स्नातकको समीक्षा आवश्यक रहेको अभिव्यक्ति सार्वजनिक गर्न थालेका छन् । यसरी देशकै ठूलो विश्वविद्यालयहरुको प्राध्यापकहरुले चार वर्षे स्नातकको औचित्य माथि प्रश्न उठाएपछि यसमा अवश्य बहसको खाँचो छ । स्नातक तह चार वर्षे नै चाहिन्छ भन्ने प्रश्न उब्जेको छ । हिजोआज स्नातक तहमा भर्ना हुने विद्यार्थी संख्या घटिरहेको र भर्ना भएकाहरूले पनि बीचैमा पढाइ छाड्ने गरेको कारण यो बहस सुरु भएको हो ।

वि.सं. २०५२ सालसम्म दुई वर्षको रहेको स्नातक तहलाई ०५३ सालदेखि ०७१ सम्म तीन वर्षको बनाइएको थियो । विदेशका कतिपय विश्वविद्यालयमा चारवर्षे स्नातक तह रहेको र नेपाली विद्यार्थी ती विश्वविद्यालयमा पढ्न जाँदा स्नातकमै थप एक वर्ष पढ्नुपर्ने कारण देखाएर नेपालमा २०७२ सालदेखि चारवर्षे स्नातक कार्यक्रम सुरु भएको थियो । तर, मानविकी संकायलाई भने ०७६ सालमा आएर मात्र चार वर्षे बनाएको थियो । त्रिविमा चार वर्षे स्नातक तह सक्न छ वर्ष लाग्ने गरेको विद्यार्थीहरुको गुनासो छ । समयमा परीक्षा नहुने, समयमा परीक्षा फल प्राप्त नहुने लगायत विविध कारणले त्रिविमा सही समयमा स्नातक सकिएको पाइदैन ।

त्रिवि आफ्नै आन्तरिक कारणले पनि बेला बेला अफ्टयारोमा परिरहन्छ । कहिले महिनौं ताला लाग्छ । कहिले प्रश्नपत्रहरु सार्वजनिक हुन्छन् त कहिले राजनीतिक चपेटामा परेर प्राध्यापकहरुको नियुक्तिमा पनि समस्या देखिन्छ । यद्दपि, अहिले बहसमा रहेको विषय भने वेवास्था गर्न नमिल्ने नै छ । विदेशिने विद्यार्थीहरुको सुगमतालाई केन्द्रमा राखि सुरु गरिएको चार वर्षे स्नातकले नेपालमै बसेर केही गर्छु भन्ने विद्यार्थीहरुलाई समस्यामा पारेको छ । साथै, समय तालिका अनुरुप त्रिवि नचलेको कारण थप विद्यार्थीहरु मारमा परेका छन् । यसैले त्रिविले आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई यो बहसको निकास खोज्न जरुरी छ ।

प्रकाशित मिति : श्रावण २०, २०८० शनिबार  ११ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]