बैशाख २२, २०८२ सोमबार

बाढी पीडितलाई युवा संघद्वारा राहत वितरण

फिदिम । पाँचथरमा बाढी र पहिरोका कारण विस्तापित भएका परिवारलाई नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न राहत वितरण गरेको छ ।

‘विपत्तिको घर युवा संघको भर’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल झापा शाखाको सहजीकरण र झापाकै स्थानीय पालिकाको सहयोगमा १ सय २४ बोरा चामल पीडित परिवारलाई वितरण गरेको हो ।

याङवरक गाउँपालिका वडा नं १ र २ का १०६ घरका परिवारलाई राष्ट्रिय युवा संघले उनीहरूको अस्थायी बासस्थलमै पुगेर प्रतिपरिवार एक बोरा चामल प्रदान गरेको राष्ट्रिय युवा संघ नेपालका झापा संयोजक लामाले बताए । उनका अनुसार गएको असार २ गते हेवा खोलामा आएको बाढीले बगाएर र पहिरो झरेर ठाउँको १०६ घरका परिवार पूर्णरुपमा विस्थापित भएका थिए ।

तत्कालको लागि पीडितलाई खानामा समस्या नहोस् भन्नका लागि राहत उपलब्ध गराएको हो । पहिरो तथा बाढी प्रभावित क्षेत्रमा स्वच्छ पिउने पानीको सबै भन्दा ठूलो समस्या रहेको राष्ट्रिय युवा संघ नेपाल झापाका संयोजक फुर्वा लामाले जानकारी दिए ।

पार्टीका नेता कार्यकर्ता र झापाका केही राइसमिलहरूले स्वेच्छाले दिइएको नगद तथा जिन्सी संकलन गरेर पीडितलाई राहत उपलब्ध गराएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सागर पोर्तेलले जानकारी दिए ।
यसअघि युवा संघका केन्द्रीय सचिव पर्वत भण्डारीले सोही क्षेत्रमा २० क्वीन्टल चामल राहत पठाएका थिए ।

प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]