बैशाख २६, २०८२ शुक्रबार

नेपालद्वारा कुवेत पराजित

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो ।

नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कुवेतका लागि जिफा जिलानीले १९ बलमा एक चौकासहित सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि इन्दु बर्माले तीन तथा खुसी डङ्गोलले दुई विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान एक-एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । विन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाइन् । नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कुवेतका लागि मरिन्मा हैदरले चार विकेट लिए भने मरयाम ओमरले दुई विकेट लिइन् । उक्त सिरिजमा नेपाल दुई खेलमा चार अङ्क जोड्दै शीर्ष स्थानमा छ । अब नेपालले आफ्नो तेस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]