बैशाख २४, २०८२ बुधबार

बढ्दैछ विदेशिने युवाको संख्या, झापामा एक वर्षमा ३७ हजारले बनाए राहदानी

गगन ढकाल

झापा । स्वदेशमा रोजगारीको अवसर कम भएपछि विदेशिने युवाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । अध्ययन र रोजगारीको नाममा वर्षै लाखौंको संख्यामा युवाहरु विदेश पलायन हुने क्रम बढ्दो छ ।

वेरोजगारीको मारमा पिल्सिएका युवाहरु जसै गरी भएपनि विदेश गएर आफ्नो आर्थिक उन्नयन गर्ने मनोविज्ञानबाट प्रेरित भइरहेका छन् । झापामा पछिल्लो एक वर्षमा ३७ हजार बढिले राहदानी लिएको तथ्यांक रहेको छ । जिल्ला प्रशासन कार्यालय झापाको तथ्यांक अनुसार झापामा आर्थिक वर्ष २०७९/०८० मा ३७ हजार ९ सय ६८ जनाले राहादानी बनाएका थिए । यसैगरी आर्थिक वर्ष ०७८/०७९ मा ११ हजार ७ सय ४६ जनाले राहदानी बनाए । यो तथ्यांकलाई तुलनात्मक रुपमा विश्लेषण गर्ने हो भने झापामा राहदानी बनाउनेको संख्या तीन गुणा भन्दा पनि बढिले वृद्धि भएको छ ।

अध्यागमन विभागको तथ्याङ्क हेर्दा सन् २०२२ जनवरी यताको पछिल्लो १९ महिनामा कुल २३ लाख ६७ हजार ५७८ जना नेपाली विदेशिएका छन् । यो संख्या दैनिक २२८० जना हुन आउँछ ।

अधिकांश विद्यार्थीहरु प्लस–टु सकेपछि जसरी पनि विदेश जाने भन्ने मनोविज्ञान पालेर हुर्किरहेका छन् । कक्षा १२ को परीक्षा सकिदा नसकिँदै ‘कन्सल्टेन्सी’ धाउने विद्यार्थीको चाङ बढ्दो छ भने स्नातक तहको अध्ययन नेपालमै गरे पनि पुनः विद्यार्थी भिसामा विदेशकै यात्रा तय गर्ने धेरैको लक्ष्य रहेको देखिन्छ । अर्काेतर्फ रोजगारीका लागि पनि युवाहरूको लक्ष्य विदेश नै रहेको देखिन्छ भने विभिन्न पेशा, व्यवसाय र जागिरमा लागेकाहरू पनि नेपालमा भविष्य नभएको भन्दै विदेश जाने क्रम बढ्दो छ ।

अध्यागमन विभागका प्रवक्ता भुषालका अनुसार यहाँबाट सबैभन्दा बढी रोजगारीका लागि विदेश जाने गरेका छन् । जनवरी २०२२ यता मात्रै रोजगारीका लागि विदेश जानेको संख्या १३ लाख एक सय २४ रहेको छ ।

अध्ययन तथा भ्रमणका लागि विदेशिनेको संख्या पनि उत्तिकै छ । तथ्यांक अनुसार अध्ययनका लागि विदेश जानेको संख्या जनवरी २०२२ यता एक लाख ५८ हजार आठ सय ५५ रहेको छ । यस्तै, भ्रमणका लागि विदेश जानेको संख्या दुई लाख ९३ हजार नौ सय ४८ रहेको छ ।

वैदेशिक रोजगारीको लागि नेपालीहरू धेरैजसो खाडी मुलुक जाने गरेको छन् भने अध्ययन प्रयोजनमा जानेहरू युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता देशहरुमा जाने गरेका छन् । भिजिट भिसामा घुम्न जानेहरू भने धेरैजसो थाइल्याण्ड, दुवई, मलेसिया तथा विभिन्न युरोपियन मुलुकमा जाने गरेका छन् ।

अध्यागमन विभागको तथ्यांक अनुसार गन्तव्यका आधारमा सबैभन्दा बढी नेपाली यूएई गएका छन् । २०२२ जनवरी यताको तथ्यांक अनुसार यूएई मात्र जानेको संख्या ३ लाख ९४ हजार ३ सय २० रहेको छ । दोस्रो गन्तव्यका रूपमा मलेसिया रहेको छ । सोही अवधिमा मलेसिया जानेको संख्या ३ लाख ९ हजार ६४ रहेको छ । यसैगरी, तेस्रो गन्तव्यमा कतार रहेका छ, जहाँ २ लाख ९२ हजार ६१ जना नेपाली २०२२ यता गएका छन् ।

यसैगरी, साउदी अरेविया, भारत, अष्ट्रेलिया, जापान, अमेरिका, कुवेत, बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, क्यानडा, हङकङ, रोमानिया, बहराइन, पोर्चुगल, ओमान लगायतका देश पनि नेपालीहरूका लागि प्रमुख गन्तव्य मुलुक रहेका छन् ।

प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]