५० हजार पुस्तक व्यवस्थित गर्दै त्रिफला पुस्तकालय
झापा, १२ भदौ : त्रिफला राष्ट्रिय पुस्तकालयले स्थापनाको २७ वर्षपछि पुस्तकहरुको व्याइण्डिङ र क्याटलगिङ गर्न सुरु गरेको छ । कोशी प्रदेश सरकारबाट गतवर्ष रु पाँच लाख अनुदान प्राप्त भएपछि सो कार्य थालिएको पुस्तकालका अध्यक्ष प्रेमप्रकाश फलाहारीले बताउनुभयो । उहाँले पुस्तक राख्ने स्टीलका आधुनिक १४ सेट दराज खरिद गरेपछि पुस्तकहरुको वैज्ञानिक विधिबाट व्यवस्थापन गर्न व्याइण्डिङ र क्याटलगिङ सुरु गरेको बताउनुभयो ।
हाल पुस्तकालयमा ५० हजार बढी हस्तलिपी ग्रन्थदेखि विभिन्न विधाका पुस्तक, पत्रपत्रिका रहेको उहाँको भनाइ छ । उहाँले भारतको कोलकत्ताबाट मान्छे ल्याएर सो काममा लगाइरहेको बताउनुभयो । प्रति पुस्तक क्याटलगिङका लागि रु सय र प्लास्टिक तथा कपडा व्याइण्डिङमा रु चार सय खर्च भइरहेको बताउनुभयो । पुस्तकालयमा भएका ५० हजार पुस्तक र पत्रपत्रिकामध्ये दुई हजार थानको व्यवस्थापनमा मात्र खर्चले पुग्ने उहाँले बताउनुभयो । “धेरै पुराना पुस्तक छन् । तिनीहरुलाई जोगाउन तत्काल व्याइण्डिङ जरुरी छ”, अध्यक्ष फलाहारीले भन्नुभयो, “तर पैसा छैन ।” पुस्तकालयको महत्त्वपूर्ण काम भएको हुँदा खर्च जुटाउनका लागि समितिमा छलफल भइरहेको उहाँको भनाइ छ ।
उहाँले पुस्तकालय मेचीनगर नगरपालिकाको सम्पत्ति भए पनि हालसम्म कुनै सहयोग नपाएको गुनासो गर्नुभयो । दाताहरुबाट सहयोग सङ्कलन गरेर पुस्तकालय हाल चार तले पक्की भवनमा छ । उहाँले भन्नुभयो, “अब भौतिक पूर्वाधार र पुस्तक सङ्कलनभन्दा पनि पुस्तकको क्याटलगिङ, व्याइण्डिङ र नम्बरिङ गर्ने हाम्रो मुख्य योजना हो ।” उहाँले आगामी भदौ २८ गते रजत जयन्तीको विशेष कार्यक्रम गरेर पुस्तकालय भवन निर्माणमा सहयोग गर्नु हुने दाताहरुमध्ये प्राडा गोविन्दराज भट्टराई, साहित्यकार टीका ढुङ्गेल, टीका अर्याल, तोयानाथ फुँयाल, हरिभक्त बुढाथोकीलगायतलाई ताम्रापत्रद्वारा सम्मान तथा भवन उद्घाटन गरिने जानकारी दिनुभयो ।