कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाई
विराटनगर । कोशी प्रदेश सरकारले लिएको विश्वासको मतविरुद्ध नेकपा एमालेले दायर गरेको रिटको सुनुवाइ आज हुँदै छ ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमा भदौ ७ गते न्यायधीश ईश्वरप्रसाद खतिवडाको इजलासले थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्षको समेत मत प्रयोग गरेपछि एमाले अदालत पुगेको थियो । थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरीले समेत मत दिएका थिए ।
मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ ।
‘अध्यक्षता गर्ने सदस्यले दिएको मतसमेत गणना गरी श्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्नुभएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो,’ आदेशमा भनिएको छ ।
मुख्यमन्त्री थापासहित प्रतिवादीहरु सबैले सर्वोच्चले दिएको म्याद भदौ १३ गते भित्रै सर्वोच्चमा लिखित जवाफ बुझाइसकेका छन् ।