कोचहरूले छुट्टै आन्दोलन गर्ने
झापा । कोशी नामविरुद्धको पहिचानको आन्दोलनमा किरात र लिम्बुवानको मात्र जातीय स्वार्थ देखेपछि कोचहरू अलग्गिएर छुट्टै आन्दोलनको तयारी थालेका छन् ।
प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको नाममा जारी आन्दोलनले किरात र लिम्बुवानको मात्र स्वार्थ सिद्ध गर्ने देखेर तराईका उत्पीडित आदिवासी जातिहरूलाई समेटेर आफूहरूले अलग्गै आन्दोलनको तयारी गरिरहेको कोचिला सङ्घर्ष समितिका संयोजक त्रिनारायण राजवंशीले बताए । उनले वर्षौँदेखि आफूहरूले उठाउँदै आएको कोचिला प्रदेशको मुद्दालाई प्रदेश नं १ पुनः नामांकन संयुक्त सङ्घर्ष समितिले बेवास्ता गरेपछि आफ्नो लागि आफै लड्न मोर्चावन्दी शुरु गरेको जानकारी दिए ।
कोचिला संघर्ष समितिको ब्यानरमा आन्दोलनको तयारीका लागि झापाका विभिन्न पालिकाहरूमा संगठन विस्तार भइरहेको सङ्घर्ष समितिकै विद्यानन्द राजवंशीले जानकारी दिए । उनले अहिलेसम्म बिर्तामोड , कनकाई , गौरादह , गौरीगञ्ज, शिवसताक्षी , बाह्रदशी , झापालगायतका पालिकाहरूमा सङ्घर्ष समिति विस्तार भइसकेको जानकारी दिए । जिल्लाका १५ वटै पालिकाहरूमा संगठन विस्तार गर्ने क्रममा मंगलवार कचनकवल र शनिवार भद्रपुरमा तदर्थ समिति गठन गर्ने कार्यक्रम रहेको माओवादीका नेतासमेत रहेका राजवंशीले बताए ।
बिर्तामोड ३ सैनिकमोडमा भएको भेलाले जीतलाल राजवंशी संयोजक र उद्धवनारायण राजवंशी सचिव रहेको २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो । लखन राजवंशीको अध्यक्षता रहेको भेलामा कोचिला सङ्घर्ष समितिका संयोजक त्रिनारायण राजवंशी , संघीय सांसद अमृतलाल राजवंशी,सङ्घर्ष समितिका विद्यानन्द राजवंशी , दिनेश राजवंशी, राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशी, बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य जगत् राजवंशीलगायतको उपस्थिति रहेको थियो ।
भेलाका वक्ताहरूले आफूहरूको अस्तित्व , पहिचान र सभ्यता जोगाउनको लागि सम्पूर्ण कोचहरू एक भएर लड्नै पर्ने बेला आएको बताएका थिए । उनीहरूले आफूहरूको इतिहास र सभ्यता भएको झापा, मोरङ र सुनसरीमा किरात लिम्बुवानहरूले धावा बोल्न खोजेको भन्दै त्यो स्वीकार्य नहुने चेतावनी दिएका थिए । उनीहरूले पछि पारिएको र पछि परेका कोचहरूको अधिकार स्थापित गर्नका लागि आम जनसमुदायलाई आह्वानसमेत गरेका छन् ।
विगतमा राज्यको पुनर्संरचना गर्ने क्रममा नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको झापा, मोरङ र सुनसरी जिल्लामा कोचहरूको स्वायत्त अधिकार हुनुपर्ने मागसहित कोचहरूले शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् । कोच सभ्यतामा पर्ने राजवंशी ,धिमाल, ताजपुरिया , गनगाई, सन्थाललगायतका जातिहरू गोलबद्ध प्रयास भइरहेको संघर्ष समितिका संयोजक राजवंशीले जानकारी दिए ।