जेष्ठ ३१, २०८२ शुक्रबार

सोलार प्यानल आएसँगै झापामा सौर्य उर्जा उत्पादनको मिति नजिकियो

बिर्तामोड । झापा इनर्जीले सौर्य उर्जा उत्पादन अन्तिम चरणमा पुगेको जनाएको छ । शिवसताक्षी ४ मा रहेको सौर्य उर्जाको प्लान्ट निरीक्षणका क्रममा प्रवन्ध सञ्चालक सुवास भट्टराईले अबको डेढ महिनामा उर्जा उत्पादन सुरु हुने जानकारी दिए ।

परियोजना स्थलमा बुधबारबाट सोलार प्यानल अनलोडको काम सुरु भएको छ । पहिलो चरणमा १० लहरी सोलार प्यानल आइसकेको भट्टराईले जानकारी दिए । उनका अनुसार जम्मा ३५ लहरी प्यानल आउने छ । अनलोड भएका प्यानलहरु धमाधम जडान गरेर उत्पादन सुरु गरिने उनको भनाई छ । ३५ लहरीमा २२ हजार ६ सय प्यानल आयात गरिने भट्टराईले जानकारी दिए ।

सौर्य उर्जा परियोजनामा प्यानल राख्ने बाहेकका सबै काम सम्पन्न भइसकेको छ । अब, प्यानल राखेर उत्पादन हुने १० मेगावाट विधुत नेपाल विधुत प्राधिकरणको बुलोचोक ग्रिडमा जडान गरिनेछ ।

कुल ७९ करोड ८० लाख लागत रहेको परियोजनामा सर्वसाधरणको २२ करोड र बाँकी रकम बैंकहरु मार्फत लगानी गरिएको छ । सो परियोजनालाई सोलार टुरिजम र कृषि टुरिजमको रुपमा समेत विकास गरिने बताइएको छ ।
२१ विगाह जमिन क्षेत्रफलमा रहेको सौर्य उर्जा उत्पादनले राष्ट्रलाई योगदान हुने सञ्चालक नारायण प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार सौर्य उर्जा १२ महिनै उत्पादन हुनेछ । उनले अब जडान गर्नुपर्ने कुनै संरचना नभएको प्रतिक्रिया दिए ।

उक्त प्रोजेक्टका सिभिल इञ्जिनियर अभिषेक पराजुलीले दुई ठाउँ इन्भर्टर राख्ने, ग्रिडमा उर्जा पुराउने संरचना र भूमिगत रुपमा हुनुपर्ने सबै प्रकारका काम सम्पन्न भइसकेको जानकारी दिए । उनले प्यानल जोड्ने बाहेक ९९ प्रतिशत काम सकिएको प्रतिक्रया दिए । उनका अनुसार प्यानल जोड्ने काम तुरुन्तै सुरु हुनेछ ।

बुधबार निरीक्षणका क्रममा बिर्तामोड नगर प्रमुख एवम् सञ्चालक पवित्रा महतारा प्रसाईले परियोजना संवृद्ध राष्ट्र निर्माणको आधार भएको बताइन् । उनले राष्ट्रलाई नागरिकको तहबाट उर्जामा योगदान गर्न परियोजना सञ्चालन गरिएको जानकारी दिएकी छन् ।

नेपाल विद्युत प्राधिकरण र झापा इनर्जीबीच विद्युत खरिदका लागि सम्झौता भइसकेको छ । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ ।
आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मा विद्युत् खरिद सम्झौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट विजुली उत्पादन गर्ने छ । यसका आधारमा आयोजनाले वार्षिक रु। १२ करोड ८५ लाख आम्दानी गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यस्तै, कम्पनीले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने सम्झौता समेत गरिसकेको छ । कम्पनीले ६,६६,६००÷– कित्ता शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]