कोशीमा शुक्रवार मुख्यमन्त्री नियुक्ति गर्ने, गठबन्धनबाटै दुई जनाको दावी
विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएपछि शुक्रबार मात्रै नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार शुक्रबार प्रदेशले नयाँ मुख्यमनत्री पाउने छ ।
बिहीबार प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले दाबी पेस गरेका छन् ।
आङ्बोले माओवादीसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी संसदीय दलका नेताको हस्ताक्षरमा आफूलाई ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
यता कार्कीले भने ४८ जना सांसदको छुट्टाछुट्टै हस्ताक्षरसहित दाबी पेस गरेका छन् । उनलाई एमालेका ३९ जना सांसदको सर्मथन छ ।
कार्कीलाई मुख्यमन्त्री बनाउन कार्कीसहित कांग्रेसबाट उदयपुरका सांसद रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीकी सुनीता गुरुङ र उदयपुरकी लीलाकुमारी राईले सुरुमा हस्ताक्षर गरेका थिए । तर, अन्तिम समयमा संसदीय दलका उपनेतासमेत रहेका देउवा पक्षधर हिमाल कार्कीले हस्ताक्षर गरे । उनी उदयपुरका हुन् ।
मुख्यमन्त्रीमा दुई जनाको दाबी र गठबन्धनका आङबोको दाबीविरुद्ध केदार कार्कीसहितका कांग्रेसका प्रदेशसभा सदस्यरुले कोशी प्रदेशका प्रदेश प्रमुख समक्ष सशरीर उपस्थित भएर आफूहरुले दोहोरो हस्ताक्षर नगरेको बताएका छन् । उनीहरुले आफैं उपस्थित भएर हस्ताक्षर बुझाँउदै आफुहरुले अरु कसैलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका हुन् ।
उनीहरुले अरु कसैले आफ्नो हस्ताक्षर पेश गरेको भए त्यो झुटो भएको समेत बताएपछि प्रदेश प्रमुखको कार्यालय अन्योलमा परेको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले शुक्रबार ५ बजेसम्मको समय रहेकाले शुक्रबार नै नियुक्त गर्ने तयारी भएको जानकारी दिए । दुई जनाको दाबी रहेका कारण थप छलफल गरेर अघि बढ्ने उनले बताए ।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ। कोशीमा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक सांसद छन् ।