गोलभेँडा र खोर्सानी पनि आयात गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो : ओली
झापा : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक कृषिमा परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले निर्वाहमुखी कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउने शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
गृहजिल्ला झापास्थित गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्तकालय र प्रयोगशाला भवनको उद्घाटन कार्यक्रममा उहाँले कृषिको आधुनिकीकरण र दक्ष जनशक्तिको उत्पादन गर्ने प्राविधिक शिक्षामा जोड दिनुपर्ने बेला आएको बताउनुभयो ।
“गोलभेँडा र खोर्सानी पनि आयात गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो”, अध्यक्ष ओलीले भन्नुभयो, “विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैन, व्यावहारिक अभ्यासलाई पढाइसँगै अघि बढाउने शिक्षा आजको आवश्यकता हो ।”
उहाँले कृषि विषय अध्ययनरत विद्यार्थीलाई किसानको खेतबारीमा प्रत्यक्षरुपमा पुगेर व्यावहारिक अभ्यास गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभयो । व्यावहारिक अभ्यासबिनाको सैद्धान्तिक ज्ञान उपयोगी नहुने उहाँको भनाइ थियो ।
नेपाली हावापानी र माटो उर्बर भएकाले थोरै जग्गा भएका प्रत्येक नागरिकले पनि कृषि कर्म गरेर उत्पादनसँग जोडिनुपर्ने धारणा राख्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल बनाउन मुलुकको कृषि क्षेत्रमा आमूल परिवर्तनको खाँचो औँल्याउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले नेपालमा कृषि तथा वन विज्ञान विषयमा भइरहेको पठनपाठनका विषयमा जानकारी दिनुभएको थियो ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले गौरादहमा रहेको कृषि क्याम्पस कोशी प्रदेशकै गौरव भएको बताउनुभयो । गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले कृषि विज्ञान पढ्ने विद्यार्थीका लागि निःशुल्क कोटा बढाउनुपर्ने र गौरादहमा भेटनरी अस्पताल स्थापना गर्न माग गर्नुभयो ।
गौरादह कृषि क्याम्पसमा हाल दुई सय ३६ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । क्याम्पसको पुस्तकालय र प्रयोगशाला निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले रु छ करोड ४४ लाख चार हजार सहयोग गरेको क्याम्पस प्रमुख सुबोध खनालले जानकारी दिनुभयो ।
तीन तले १४ कोठे सो भवन तीन वर्षअघि निर्माण प्रारम्भ भएको थियो । भवनमा १४ कोठा रहेको क्याम्पसले जनाएको छ । क्याम्पसले कृषि स्नातक तहको दुई ब्याचको अध्ययन पूरा गरिसकेको खनालले बताउनुभयो ।