जेष्ठ २८, २०८२ मंगलबार

सौर्य उर्जा उत्पादनका लागि झापामा सोलार प्यानल जडानको काम धमाधम

बिर्तामोड । झापा इनर्जीले सोलार प्यानल जडानको काम सुरु गरेको छ । गत हप्ता मात्रै परियोजना स्थल ल्याइएको सोलार प्यानल जडान कार्य धमाधम अघि बढाइएको सञ्चालक नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

सोलार प्यानल जडानसँगै सौर्य उर्जा उत्पादन अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी ४ मा रहेको प्लान्टमा प्यानल जडानको काम मात्रैं बाँकी थियो । अब केहि हप्तामै प्यानल जडानको काम सकिन्छ, पोखरेलले भने– प्यानल जडानसकिने वित्तिकै उर्जा उत्पादन सुरु गरिन्छ ।

कम्पनीका प्रवन्ध सञ्चालक सुवास भट्टराईले अबको एक महिना लगत्तै उर्जा उत्पादन सुरु हुने जानकारी दिए । उनका अनुसार प्यानल आयात गर्न ढिलाइ भएको थियो । ३५ लहरी प्यानल आयात भइसकेको छ । अब जडानको काम सकिने वित्तिकै उर्जा उत्पादन गरिन्छ । ३५ लहरीमा २२ हजार ६ सय प्यानल आयात गरिएको छ । उत्पादित १० मेगावाट विधुत नेपाल विधुत प्राधिकरणको बुलोचोक ग्रिडमा जडान गरिनेछ । त्यसका लागि आवश्यक सम्झौतासँगै संरचना समेत तयार भइसकेको छ ।

कुल ७९ करोड ८० लाख लागत रहेको परियोजनामा सर्वसाधरणको २२ करोड र बाँकी रकम बैंकहरु मार्फत लगानी गरिएको छ । सो परियोजनालाई सोलार टुरिजम र कृषि टुरिजमको रुपमा समेत विकास गरिने बताइएको छ । २१ विगाह जमिन क्षेत्रफलमा रहेको सौर्य उर्जा १२ महिनै उत्पादन हुनेछ ।

प्रोजेक्टका सिभिल इञ्जिनियर अभिषेक पराजुलीले दुई ठाउँ इन्भर्टर राख्ने, ग्रिडमा उर्जा पुराउने संरचना र भूमिगत रुपमा हुनुपर्ने सबै प्रकारका काम सम्पन्न भइसकेको जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण र झापा इनर्जीबीच विद्युत खरिदका लागि सम्झौता भइसकेको छ । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ ।

आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मा विद्युत् खरिद सम्झौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट विजुली उत्पादन गर्ने छ । यसका आधारमा आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : कार्तिक २, २०८० बिहीबार  १२ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]