दशैंलाई उल्लासमय बनाउने सन्थाल नृत्य ‘वर्षभर ओझेलमा’
बिर्तामोड । पूर्व नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थाल समुदायको नृत्यले हरेक वर्ष बडादशैंको स्वागत गर्ने गर्छ । जब सन्थाल समुदायका युवा, वृद्धहरु आफ्नै भेषभुषामा नृत्य गर्न थाल्छन्, तब मात्रै दशैं आएको अनुभूति हुने गरेको छ ।
दशैंमा मात्रै बाक्लो गरी देखिने सन्थाल नृत्य दशैंको पूर्णिमासम्म गाउँघर, बजार, मेलामा देख्न पाइन्छ । धोतीसहितको नृत्यमा प्रयोग गरिने रातो टिसर्ट, टाउकोमा विविध रङका फेटा बाँधेर दशैंलाई थप रमझम बनाउने गरेका छन् । सन्थाल नृत्य गर्दा सन्थाल पुरुष र महिला रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र ऐना, कम्मर र खुट्टामा झुम्का र कल्ली लगाउँछन् ।
दशैंको पूर्णिमासँगै सन्थाल नृत्य सकेर उनीहरु आफ्नो काम धन्दामा लाग्ने गरेका छन् । सन्थाल समुदायका अगुवा भगवान टुडुले दशैंपछि अर्को दशैंसम्म सन्थाल नृत्य ओझेलमै पर्ने जानकारी दिए । उनले भने – दशैंमा हरेक गाउँ, बजारमा देख्न पाइने सन्थाल नृत्य हेर्न फेरि अर्को दशैं नै पर्खिनुपर्छ ।
बसोबासका हिसावले तीन जिल्लामा भएपनि कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा झापाली सन्थालहरु अगाडि रहेको उनको भनाई छ । झापा सन्थाल कला, संस्कृतिमा धेरै अगाडि छ, उनले भने – तर, नयाँ पुस्ताको उल्लेख्य आकर्षण नहुँदा चिन्तित छौं ।
झापा कनकाई ७ का टुडु आफै पनि आफ्नो समुदायको कला संस्कृति सिकाइरहेका छन् । जनप्रतिनिधि समेत रहेका टुडुले यो दशैं पनि अघिल्लो पुस्ताले नै नाचेर धानेको बताए । नयाँ पुस्ताले खासै रुचि नराखेको भन्दै उनले अहिलेसम्म पुरानै पुस्ताबाट काम चलाइरहेको प्रतिक्रिया दिए ।
दशैंको फुलपातीको अघिल्लो दिनदेखि सन्थाल समुदायले नृत्य सुरु गर्ने गरेका छन् । उक्त दिन दुर्गा मातालाई सम्झेर ‘दिलवरन’ पुजा गर्दै दशैंको स्वागत गर्ने सन्थालहरुले ४ दिन नाचगानमै विताउने गरेका छन् । दशैंमा टिका जमरा नलगाउने सन्थालहरुले दशैंलाई बेजोड रौनक दिने गरेका छन् । उनीहरुको नाच रहेसम्म, दशैंको रौनक रहिरहन्छ ।
सन्थालका विभिन्न नाचमध्ये दशैंमा लवई नाच प्रदर्शन गरिन्छ । लवई नाचमा मादल, दमाहा र झ्याम्टाको प्रयोग हुने गर्छ । यो दशैंमा देखिएको अधिकांश सन्थाल नाचमा युवा उमेरको उपस्थिति कमजोर थियो ।
हरेक माघ १५ देखि १ महिनासम्म ‘सोराई’, तीज जस्तै ‘वाह’ र ‘एर’ भूमि पुजा गरेर धान रोपाई गर्ने पर्वहरु सन्थाल समुदायले उल्लासका साथ मनाउने गरेको पाइन्छ । चाडवाडमध्ये दशैंको नाचलाई मात्रै सबै समुदायले ख्याल गर्ने गरेको टुडुको भनाई छ ।
आधुनिक समाजको प्रभाव, धर्म परिर्वतन र कला संस्कृतिप्रतिको वेवास्थाले युवा पुस्ताहरु नजोडिएको उनको दावी छ । टुडु भन्छन्, पुरानो पुस्ताले नयाँ पुस्तामा कला हस्तान्तरण गर्न पनि चासो दिइरहका छैनन् ।
नेपाल सन्थाल आदिवासी उत्थान संघ कनकाई नगरका सदस्य समेत रहेका टुडुले दशैं बाहेक सन्थाल नृत्य पनि ओझेलमा पर्ने गरेको सुनाए । उनले सन्थाल नाच जोगाउन आफ्नै ठाउँमा विहे पर्वमा प्रस्तुत गरिने नाचहरु सिकाइरहेको प्रतिक्रिया दिए ।
संविधानसभा सदस्य मोहन टुडुले युवाको उपस्थिति विगतमा जस्तो कमजोर नभएको बताएका छन् । ५-६ वर्षअघि संकट थियो । यो वर्षको दशैंमा युवाको उपस्थिति राम्रो थियो । उनले जिल्लाका मेलाहरुमा हुने प्रतियोगितात्मक नृत्यमा युवाहरुको उपस्थिति बढेको जानकारी दिए ।
सन्थाल कला, संस्कृतिको जगेर्नामा राज्यबाट उचित सहयोग नपाएको उनको गुनासो छ । सानातिना सहयोग भए पनि उल्लेख्य सहयोग नपाएको उनले बताए । कला संस्कृतिमा एक बेला निकै चिन्ता थियो, अहिले भाषामा चिन्ता थपिएको छ, उनले भने नयाँ पुस्ताले भाषामा खासै ख्याल गरेनन् ।