जेष्ठ २७, २०८२ सोमबार

बिर्तामोडको नेत्र पार्क सञ्चालनमा नगरको चासो

बिर्तामोड । अलपत्र अवस्थामा रहेको बिर्तामोड – ७ स्थित शहिद नेत्र पार्क सञ्चालनका लागि नगरपालिकाले चासो देखाएको छ । बिर्तामोडका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने र वडाध्यक्ष अविरल कृष्ण खरेलसहितको टोलीले भर्खरै पार्कको अवलोकन गरेको छ ।

सञ्चालनको संभाव्यता समेत हेरेको सो टोलीले पार्कमा केहि लगानी गरेर अघि बढाउन सकिने निष्कर्ष निकालेको छ । उपप्रमुख संग्रौलाले मंसिरदेखि पिकनिक स्पोट बनाउने जानकारी दिए । पिकनिकका लागि आवश्यक तयारी गरिहाल्ने भन्ने सोच बनेको छ, उनले भने – पार्कलाई पनि विस्तारै पूर्ण रुपमा सञ्चालन गर्न सक्छौं भन्ने लागेको छ ।

उनका अनुसार भद्रपुर रोड क्षेत्रको डिभाइडरका लागि सो क्षेत्रबाट माटो ल्याउने र पार्कलाई पनि आवश्यक सरसफाईसँगै अन्य पूर्वाधार निर्माण गरेर सञ्चालन गर्ने योजना छ । खानेपानी, विजुली जस्ता पूर्वाधार निर्माण गरेर पार्कलाई अब विस्तारै सञ्चालन गर्दै जानुको विकल्प नरहेको उनको भनाई छ ।

सरकारको सय गन्तव्यमा परेको नेत्र पार्क निर्माण पुरा नहुँदै अलपत्र भएको वर्षौ भइसक्दा पनि तत्कालिन निर्माण समितिले सञ्चालनमा कुनै चासो दिएको छैन । राज्यको करिव तीन करोड लगानी भएको पार्क निर्माणमा तत्कालिन एमाले नेता नरेश खरेलले अगुवाई गरेका थिए ।

अवलोकनमा पुगेका बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बिर्तामोडको लागि नेत्र पार्क राम्रो पर्यटकीय गन्तव्य हुन सक्ने बताएका छन् । बिर्तामोडमा पिकनिक जाने ठाउँ छैन, उनले भने – १ करोड जति लगानी गर्न सकियो भने पार्कलाई पूर्ण रुपमा सञ्चालन गर्न सकिन्छ । उनले पुराना संरचनाको मर्मत गरेर आवश्यक पूर्वाधार र सुरक्षा प्रवन्ध गर्न सके पार्क सञ्चालन गर्न सकिने जानकारी दिए ।

सुन्दर निचाझोडा सामुदायिक वनमा रहेको पार्कलाई नगरपालिकाले व्यवस्थापन गरेर सञ्चालन गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाई छ । बाँकी निर्माण र मर्मतसँगै सबै व्यवस्थापन पालिकाले गर्ने हो भने पार्कलाई राम्रैसँग चलाउन सकिनेछ ।

वनको कुनै पनि संरचना र रुख विरुवामा क्षति नगरी पार्क सञ्चालन गर्नुपर्ने स्थानीय उपभोक्ताको माग छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, त्यो संभव छ । त्यसका लागि सुरक्षाहरु प्रवन्ध मिलाउन सकिन्छ । स्रोत व्यवस्थापन गरेर विर्तामोडको मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने उनले बताए ।

करोडौंको संरचना अलपत्र
सुन्दर निचाझोडा सामुदायिक वनभित्र रहेको पार्कमा विभिन्न आर्थिक वर्षमा २ करोड ९३ लाखभन्दा बढि रकमको संरचना निर्माण भइसकेको विवरण फेला परेको छ । ०७१ सालदेखि निर्माण सुरु भएको पार्कमा ०७८ सम्म लगानी भएको देखिन्छ ।

बिर्तामोड नगरपालिका, प्रदेश सरकार, पर्यटन कार्यालय, वन समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले करिव ३ करोड लगानी गरिसकेको तत्कालिन निर्माण समितिका सचिव टिका खरेल बताउछन् ।
पार्कमा ११ लाख लगानी गरेर निर्माण गरिएको डाइनोसर कामै नलाग्ने अवस्थामा पुगेको छ । डाइनोसरको म्याद नै गुज्रिसकेको छ । पार्कको उत्तर भागमा जडित डाइनोसर विधुतीय माध्यमबाट सञ्चालन गर्ने गरी बनाइएको थियो । अहिले डाइनोसरको सबैजसो पार्टपुर्जा विग्रिसकेका छन् । यहि अवस्थामा डाइनोसर चल्ने अवस्थामा नरहेको खरेलको भनाई छ ।

यस्तै, १० लाखको लगानीमा पार्कभित्र खानेपानीको लागि ट्यूवेलहरु जडान गरिएको थियो । अहिले एक थान ट्यूवेल भेटिदैनन् । सोही बजेटबाट सरसफाईको समेत काम गरिएको थियो ।

यस्तै, पार्कमा निर्माण गरिएको स्वीमिङ पुलको संरचना मापदण्ड विपरित भएको कतिपयले आरोप लगाएका छन् । अहिले स्वीमिङ पुलको छेउ भागहरु दविएका छन् । स्वीमिङ पुल निर्माणमा दुई पटक गरेर चेन्जिङ रुम सहित १ करोड खर्च भएको छ ।

बिर्तामोड –७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले स्वीमिङ पुल निर्माणमा हदैसम्मको लापरबाही भएको बताउदै आएका छन् । उनले पार्कभित्र निर्माण भएका अधिकांश संरचना गुणस्तरहिन र मापदण्ड विपरित रहेको धारणा राखे ।
पार्कमा रहेको सिमसारमा बोटिङ गर्न खरिद गरिएका २ थान डुंगा र बालबालिका खेल्ने केहि सामग्री विराटनगरबाट १० लाखमा खरिद गरिएको थियो । अहिले ति सामग्री नजिकै गोदाममा थन्किएका छन् । कतिपय सामग्री विग्रिसकेको छ ।
यस्तै, बाल उद्यानका नाममा २५ लाख भन्दा धेरै लगानी भएको पाइएको छ । तर, अहिले बाल उद्यानको कुनै नामनिशाना भेटिदैन । उक्त संरचना जंगलले पुरिएको छ । बाल उद्यानको लागि बनाइएको ठुलो फलामे ढोका समेत चोरी भइसकेको निर्माण समितिका सचिव खरेलले जानकारी दिए ।

शहिद नेत्र पार्कको विश्राम घर चर्किएको छ । भित्ता र भुँई भाग नै चर्किएपछि बस्न समेत जोखिम हुने अवस्था बनेको छ । विश्राम घर र पानी निकासको संरचना निर्माणमा ५ लाख खर्च गरिएको थियो ।

वडाध्यक्ष खरेलले कुनै पनि हालतमा नेत्र पार्क सञ्चालन गरिनुपर्ने बताएका छन् । उनले कुनै पनि बहानामा राज्यको ठुलो लगानी नोक्सान हुन नदिन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : कार्तिक १६, २०८० बिहीबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]