नेत्र पार्कलाई व्यूँत्याइदेऊ
सम्पादकीय
झापाको बिर्तामोडमा रहेको नेत्र पार्कमा राज्यको ठुलो लगानी भएपनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । भर्खरै बिर्तामोड नगरपालिकाको टोलीले पार्कको अवलोकन गरेपछि सञ्चालनको आशा जागेको छ । करिव तीन करोड लगानी भइसकेको पार्कमा अधिकांश संरचनाहरु काम नलाग्ने भइसकेका छन् । त्यहाँ जो कोहिलाई राज्यको लगानी नोक्सान भएको देख्दा नेतृत्वकर्तामाथि आक्रोस पोख्छन् । नागरिकहरु राज्यको सामान्य संरक्षण नहुँदा सडकको बास बनेको छ । गरिव, विपन्नका लागि सामान्य लगानी गर्न पनि हात कमाउने सरकार यस प्रकारका संरचनाहरुमा लगानी गरेर अलपत्र छोड्न तयार छ । किनभने, स्वार्थ सहित बनेका कुनै पनि संरचनाहरु सहजै निर्माण भएका छैनन् । र, सञ्चालन पनि हुन सकेका छैनन् ।
बिर्तामोड नगरपालिकाभित्र रहेको एक मात्र ठुलो सार्वजनिक पर्यटकीय गन्तव्य नेत्र पार्क केहि व्यक्तिहरुको मनमौजीले आज अलपत्र अवस्थामा पुगेको छ । करोडौं लगानी गर्ने, हिसाव सार्वजनिक नगर्ने, अलपत्र बनाएर छोडिदिनेहरु पार्कलाई सञ्चालन गर्न अग्रसर भएनन् । वनक्षेत्रमा रहेको पार्कलाई कुनै पनि हालतमा सञ्चालन गर्नुपर्छ । सुन्दर निचाझोडा सामुदायिक वनले पनि पार्क सञ्चालन गर्न तदारुकता देखाउनु पर्ने थियो । त्यो काम वन समितिले हिजो पनि गरेन, आज पनि प्राविधिक समस्याहरु देखाइरहेको छ ।
पार्कका लागि निर्माण गरिएका धेरै संरचनाहरु विग्रिएका छन् । धेरै संरचनाहरु चोरी भएका छन् । केहि संरचनाहरु पुरिएका छन् । जे होस्, पार्कलाई अब व्यूत्याउँनुपर्छ । त्यसका लागि नगरपालिकाले पनि आवश्यक पहलकदमी गर्नैपर्छ । नगरको टोलीले अवलोकन गरेपछि पार्क सञ्चालन गर्नुपर्छ भन्नेहरु खुशी भएका छन् । नगरभित्रको सम्पत्ति भएकाले त्यसको सञ्चालनको जिम्मेवारी नगरको पनि हो । नगरले त्यसलाई संरक्षण गर्दै आफ्नो व्यवस्थापनमा सञ्चालन गर्न सक्ने हो भने पर्यटकीय राम्रो गन्तव्य बन्ने छ । वडा कार्यालयको निगरानीमा मात्रै पार्क सञ्चालन गर्न सके पार्क निर्माणको उद्देश्य पनि पुरा हुने थियो । राज्यको करोडौं लगानी पनि खेह्र जानबाट जोगिने थियो ।