जेष्ठ २७, २०८२ सोमबार

हल्दिवारीमा अवैध उत्खनन्, मिलेमतो गरेको अधिकांशको आरोप

बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकासँग सम्झौता नगरी व्यवसायीले अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गरेको भन्दै स्थानीयबासिन्दाले विरोध जनाएका छन् । हल्दिवारीको सो घटनापछि सामाजिक सञ्जालमा समेत व्यापक विरोध भइरहेको छ ।

स्थानीय देउनियाँ खोलाबाट व्यवसायीले अवैध रुपमा उत्खनन गरिएको गिटीको प्रति ट्याक्टर ७ सय र पुरुवाको ६ सय रुपैयाँ उठाइरहेको प्रमाण फेला परेको छ । हप्तादिन देखि अवैध रुपमा चिर्कटोमा पैसा उठाइरहेको भेटेपछि स्थानीय सरोकारावालाहरुले विरोध जनाएका हुन् । खोला ठेक्का पार्ने हल्दिवारी –४ का मदन मगरले चिर्कटोमा पैसा उठाएको स्वीकार गरेका छन् । उनको एन्जल एण्ड एरोन निर्माण सेवाले भ्याट सहित १५ लाख २६ हजारमा ठेक्का पारेको थियो । तर, निर्माण सेवाले गाउँपालिकासँग सम्झौता नगरी पैसा उठाउन थालेपछि चर्को विरोध भएको हो ।

गाउँपालिकासँग ठेक्का पाउने निर्माण कम्पनीका सञ्चालक मगरले सम्झौताका लागि आसय पत्र प्राप्त भइसकेको जानकारी दिए । १५ दिनभित्र सम्झौता गर्नुपर्ने पत्र प्राप्त भएको छ , उनले भने – पत्र अनुसार अझै ११ दिन समय छ । ठेक्का पाएको खोलामा नदीजन्य सामग्री चोरी भएपछि चिर्कटो मै पैसा उठाएको उनको भनाई थियो । ‘ मैले ठेक्का पारेको हुँ, सम्झौता भएपछि विल बनाउने तयारी थियो । तर, सामग्री चोरी भएपछि चिर्कटो प्रयोग गरेको हुँ’, उनले भने ।

गाउँपालिकाले देउनिया खोलाको ३ वटा नाका घोक्रे, कन्टरघुटु र राई टोलमा आईईई गरे अनुसार अहिले सामग्री छैन । सबै नदीजन्य सामग्री खोलाको डिलमा निकालिएको देखिन्छ । त्यसको स्टक प्रमाणित छैन, उनले भने – यहाँको खोलाको मुद्धा जिसस, जिल्ला प्रहरी र सिडिओसम्म पुगिसकेको छ । अब पानी बेच्नु ? प्रतिप्रश्न गरे ।

गाउँपालिकालाई १५ लाख २६ हजार मैले अब कहाँबाट बुझाउनु ? उनले भने – खोला नै चोरी भइसक्यो, आफ्नो लगानी बचाउन चिर्कटो प्रयोग गरेकै हो ।

अवैध रुपमा उत्खनन् गरेको भेटेपछि आज गाउँपालिकाको टोलीले स्थलगत अवलोकन गरेर संकलित रकम जफत गरेको छ ।

यता, नेकपा एमाले हल्दिवारी गाउँपालिकाका अध्यक्ष त्रिलोचन सापकोटाले गाउँपालिकासँगको मिलेमतो मै अवैध रुपमा उत्खनन् र रकम संकलन गरेको आरोप लगाए । उनले भने – बाहिर जेजे भनेपछि भित्र सेटिङ देखिन्छ । तत्काल उक्त अवैध कार्य रोक्न सापकोटाले आग्रह समेत गरेका छन् ।

हल्दिवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले घटनाको बारेमा कार्यपालिकाको ध्यानाकर्षण भएको जानकारी दिए । उनले चिर्कटोको आधिकारिकता के हो भन्ने बारे अनुसन्धान थालिएको बताए । चौतर्फी रुपमा सो विषय बाहिर आएपछि कार्यपालिका बैठक बसेर प्रहरी, प्रशासनलाई जानकारी गराइसकेको उनको भनाई छ । वनका अनुसार चिर्कटो प्रमाणित भएमा कारबाही हुनेछ ।

प्रकाशित मिति : कार्तिक २०, २०८० सोमबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]