बिर्तामोडका किसान अधिकारीको खेतमै रह्यो २५ टन सयपत्री फूल
बिर्तामोड । झापा बिर्तामोडका एक किसानले तिहारका लागि उत्पादन गरेको सयपत्री फूल नोक्सान भएको छ । तिहार सकिदा पनि उत्पादित फूल विक्री नभएपछि किसान ठुलो मार्कामा परेका हुन् ।
बिर्तामोड–९ का दल बहादुर अधिकारीले यो वर्ष २५ कठ्ठामा सयपत्री फूल रोपेका थिए । तिहारमा विक्री गर्न मिल्ने भए पनि उनको सयपत्री फूल आजसम्म खेतमै फुलिरहेको छ । विदेशी फूलमा परनिर्भर हुनु परेपछि अधिकारीले विगत ६ वर्षदेखि व्यवसायिक रुपमा सयपत्री फूलको खेती गर्दै आएका थिए । विगत वर्षहरुमा फूलको ठुलो अभाव हुने, कलिला थुँगा समेत बेच्नुपर्ने भएपछि यसपाली क्षेत्रफल बढाएको थिए, अधिकारी भन्छन् – ‘यहि वर्ष फूल बेच्न सकिएन । करिव १५ प्रतिशत मात्रै फूल विक्री भयो । बाँकी खेतमै छ ।’
गत वर्ष १० कठ्ठामा मात्र फूल लगाएका अधिकारीले फूलको माग बढेकै कारण कलकत्ताबाट विऊ ल्याएर उन्नत जातको सयपत्री फूल रोपेका थिए । श्रम बाहेक १ लाख लगानी गरेका उनले फूल विक्रीबाट पाँच लाख आम्दानी गर्ने योजना बनाएका थिए । १५ प्रतिशत विक्री गर्दा पनि ७० हजारको फूल बेचेको उनको भनाई छ । अहिले २५ क्वीन्टल फूल खेतमा फुलिरहेको अधिकारीले बताउँछन् ।
१२ महिना फूल उत्पादनको योजना बनाएका अधिकारीले यो वर्ष फूल खरिदका लागि व्यापारी नै नआएको बताए । व्यापारी पनि आएनन्, सयपत्री सबैले तिहारमा गाउँघरमा आफै फुलाउछन् पनि, भारतबाट उत्तिकै आयात हुँदा यहाँ फूल विक्री गर्न सकिएन अधिकारीले थपे ।
उनले सुरुमा २५० प्रति केजी र पछि प्रति केजी ५० रुपैयाँसम्म विक्री गरेको सुनाए । बजारमा एक माला १ सयसम्म विक्री भएको थियो । भारतबाट आयात हुँदा करिव आधा केजी फूलको माला व्यापारीले भारतीय १२ रुपैयाँमा आयात गरेका थिए । स्थानीय उत्पादन हदै महंगो भएपछि व्यापारीहरुले भारतबाट आयात गरेर फूल बेचेका छन् । व्यापारीलाई फूल भन्दा पनि तयारी माला चाहिन्छ, व्यवसायीहरु भन्छन् – यहाँ किसानसँग महंगोमा फूल खरिद गरेर माला बनाउन समय नै पाइदैन । भारतबाट तयारी माला नै आयात हुने गरेको छ ।
अधिकारीले प्रति केजी पाँच सयसम्म लिएपछि फूल विक्री नभएको बुझाई छ । अधिकारीले पनि आफुले सुरुमा पाँच सय रुपैयाँ प्रतिकेजी विक्री गरेको स्वीकार गरे । उनले समयमा बजारमा पुराउन नसक्नु पनि आफ्नो त्रुटि भएको बताउँछन् । यो वर्ष फूल विक्री नहुँदा धेरै पाठ सिकेको छु, उनले भने – अर्को वर्ष सुधार गर्नेछु । अब १५ दिनभित्र फूल विक्री गर्न नसके नष्ट गर्नुपर्ने उनको भनाई थियो ।