जेष्ठ २७, २०८२ सोमबार

छठको दोस्रो दिन खरना विधि सम्पन्न

जनकपुरधाम, २ मङ्सिर : छठको दोस्रो दिन आज खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् ।

बर्तालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेदको रुपमा चढाउनुपर्ने हुन्छ । खरनामा छठपर्वको मुख्य दिन चढाउने अघ्र्य जति स्थानमा केराको पातमाथि नैवेद चढाउनुपर्ने हुन्छ । खरनामा नैवेदमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी राखिन्छ । नैवेदलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । नैवेदलाई उत्सर्ग गरिसकेपछि बर्तालु र परिवारजनले प्रसाद ग्रहण गर्ने गर्छन् । यसरी खरना विधि सम्पन्न हुन्छ ।

बर्तालुले आज छठको दोस्रो दिन बिहानदेखि उपवास बसी खरना विधि गरेर भगवान्लाई चढाइएको खीर सेवन गरेपछि अब एकपल्ट चौथो दिन उदयमान सूर्यको पूजा गरी अघ्र्य दिएपछि मात्र भोजन गर्नुपर्ने हुन्छ । यस अवधिमा बर्तालु पानी खाँदैनन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ । यस पर्वको पहिलो दिन नुहाएर चोखो भइ खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि विधिवत्रुपमा पर्व समापन हुनेछ ।

प्रकाशित मिति : मंसिर २, २०८० शनिबार  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]