जेष्ठ २६, २०८२ आईतबार

दिनभर वडामै भजनकिर्तन गरेर समय काट्छन् बिर्तामोड १ का ज्येष्ठ नागरिक

बिर्तामोड । व्यापार व्यवसाय र जागिर भएका उमेर समूहहरु दिनभर व्यस्त नै हुन्छन् । कुनै काममा जोडिएकाहरुलाई दिनभर व्यस्त नै देखिन्छ । तर, ज्येष्ठ नागरिकहरुलाई दिनभर घरमै समय विताउन कठिनाई हुन्छ । त्यै कठिनाईबाट मुक्ति पाउन बिर्तामोड –१ का ज्येष्ठ नागरिकहरु भने दिनभर भजनकिर्तन गरेर समय बिताउदै आएका छन् ।

वडा नं. १ को सभाहलमा जम्मा भएर भजन किर्तन गर्दै आएका ज्येष्ठ नागरिकहरु यतिबेला वडाले बनाएको अलग्गै भवन प्रयोग गरिरहेका छन् । ०७४ सालदेखि २-३ जना भेला भएर भजन गाउँने ज्येष्ठ नागरिकहरु यतिवेला हरेक दिन ४०-५० जनासम्मको जमघट हुने गरेको छ ।

छोराछोरीहरु काममा घर बाहिर निस्केपछि एक्लै बस्न कठिनाई भएकाले भजन किर्तन मै सहभागी हुने गरेको ज्येष्ठ नागरिकहरु बताउँछन् । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म भजन किर्तनमा रमाउने ज्येष्ठ बुबाआमाहरुले सामूहिक रुपमा विभिन्न पुजापाठ समेत गर्न थालेका छन् । ज्येष्ठ नागरिकहरुले भर्खरै एकादशीको पुजा समेत लगाएको बुझिएको छ । भजन किर्तनसँगै कथा भन्ने गरेको वडा सचिव टिका अधिकारीको भनाई छ ।

मौसमको प्रतिकुलता बाहेक बुधबार र शनिवार छोडेर अन्य दिनहरुमा सधैं वडा कार्यालयमा ज्येष्ठ नागरिकहरुको भेला, जमघट हुने अधिकारीले जानकारी दिइन् । उनका अनुसार यसअघि सभाहलमा भजन किर्तन हुने गथ्र्यौ, अहिले वडाको नयाँ भवनको भुँइतला प्रयोग गर्दै हुनुहन्छ । सभाहलमा उहाँहरुलाई र कर्मचारीलाई पनि समस्या भएपछि अलग्गै भवनमा व्यवस्थापन मिलाइएको छ ।

वडा कार्यालयले भजन किर्तनका लागि चाहिने हार्मोनियम सहितका सामानहरुको खरिदमा सहयोग गरेको छ । वडासहित दाताहरुले टेवल, फेन, चिया पकाउने कित्नी, चिनी लगायतको सामान खरिदमा सहयोग गर्दै आएको बुझिएको छ ।

वडा नं. १ का अध्यक्ष अग्नी पाण्डेले ज्येष्ठ बुबाआमा दैनिक भजन किर्तन गर्न पाउँदा खुशी हुनुभएको जानकारी दिए । दिनभर घरमा एक्लै बस्नुभन्दा दिनभर भेला भई धार्मिक माहोलमा सहभागी हुन पाउनु राम्रो हो, पाण्डेले भने – उहाँहरुबाट हामीले आशिर्वाद पाइरहेका छौं । सकेको सहयोग वडाको तर्फबाट भइरहेको छ ।
हरेक वर्ष भ्रमणमा समेत लैजाने गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : पुष ५, २०८० बिहीबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]