जेष्ठ २६, २०८२ आईतबार

बिर्तामोडमा सामुदायिक कुकुरको प्रकोप रोक्न बन्ध्याकरण

बिर्तामोड । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । बिर्तामोड नगरपालिकाले विगत वर्षहरुमा जस्तै यसवर्ष पनि बिहीवारदेखि बन्ध्याकरण शिविर सुरु गरेको हो ।

चार दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसंगै रेबिज विरुद्वको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिने पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा यो पटक २ सय ५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिने छ ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आए पनि कुकुरको प्रकोप बढेकोले धेरै उजुरीहरु आउने गरेको बताइन् । सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाईलाइ टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर प्रभावकारी रहेको धारणा राखिरन् ।

बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । हालसम्ममा करिब २ हजार एक सय भन्दा बढी कुकुरलाई बन्ध्याकरण गरिएको जनाइएको छ । पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख दाहालले छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्य रुपमा शिविर आयोजना गरेमात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने बताइन् । शिविरमा २ जना डाक्टरसहित १८ जनाको टिम खटिएको छ ।

शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, कार्यपालिका सदस्य सीता ढुङ्गाना, संगिता सिवा, वडा नम्बर ८ का वडा सदस्य अग्निप्रसाद सिटौला, नगरपालिकाका अधिकृत मेघराज बाँस्तोला, हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाका अध्यक्ष डाक्टर दिलिप सापकोटा लगायतको उपस्थिति रहेको थियो । शिविर पुस ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : पुष ५, २०८० बिहीबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]