जेष्ठ २, २०८२ बिहीबार

बिर्तामोड वाणिज्य संघमा धमाधम उम्मेदवारी घोषणा

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदैं जाँदा उम्मेदवारी घोषणाको काम सुरु भइसकेको छ । वाणिज्य संघको संभावित अध्यक्षको उम्मेदवार रुपमा हेरिएका बहालवाला अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र महासचिव अर्जुन कुमार मैनाली हुन् । यसमध्ये मैनालीले गत पुस ११ गते अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र व्यवसायिक प्यानलको नेतृत्व मैनालीले गर्ने उम्मेदवारी घोषणासँगै जानकारी गराइएको छ । मैनालीपछि अहिलेसम्म अध्यक्षमा कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् । प्रगतिशिल व्यवसायीहरुबीच सर्वसहमतिबाट मैनालीलाई अध्यक्षको रुपमा अघि सारिएको छ ।

तर, नेपाली कांग्रेसले आफ्नो उम्मेदवारहरु भने अहिलेसम्म घोषणा गर्न सकेको छैन । कतिपयले घोषणा गर्ने समय भएकाले अहिले नै घोषणा नगरेको हुन सक्ने बताएका छन् । कांग्रेसकै अगुवाईमा अर्को प्यानल बन्ने निश्चित भइसकेको छ । कांग्रेसको प्यानलबाट अध्यक्षका रुपमा देखिएका शिवाकोटी र न्यौपानेबीच एकजना आउने बिर्तामोडमा चर्चा छ । शिवाकोटीले दोहोर्याउने भए उनैलाई प्राथमिकता दिन सक्ने अर्कोथरीको अनुमान छ, जानकारहरु भन्छन्– शिवाकोटीले आफ्नो कार्यकाल वेकामे बनाए । यो पटक न्यौपानेले उम्मेदवारी पाउने संभावना धेरै छ ।

केहि समयदेखि संघको कार्यवहाक अध्यक्ष समेत न्यौपानेलाई दिएर सक्रिय बनाइएको छ । शिवाकोटी विर्तामोडमै हुँदाहुँदै न्यापानेलाई कार्यवहाक दिन नहुने धेरैले तर्क गर्दै आएका छन् ।

यता, निर्वाचनका लागि नयाँ दर्ता सकिएको छ भने नविकरणका लागि वाणिज्य संघले सूचना जारी गरेको छ । नविकरणकै लागि दौडधुप गरिरहेका व्यापारीहरुले मैनालीको विपक्षी प्यानलको रुपमा न्यौपाने नै अगाडि आउन सक्ने चर्चा गरिरहेका छन् । तर, माऊ पार्टीले न्यौपाने नै उम्मेवार भनिनसकेकाले उनले खुलेर आफु उम्मेदवार भन्न सकेका छैनन् । कांग्रेसभित्र शिवाकोटी र न्यौपाने बाहेक अन्यले पनि अध्यक्षका लागि लभिङ गरिरहेको पनि बुझिएको छ ।

व्यापारीको हितमा खासै काम गर्न नसकेपछि वाणिज्य संघप्रति व्यापारीको ठुलो अपेक्षा देखिएको छैन । कि त नयाँ अनुहार, नयाँ जोस भएको नेतृत्व चाहिन्छ्, बिर्तामोडका एक व्यापारी भन्छन्, सधैं एकैखाले मान्छेहरुले वाणिज्य संघलाई निजी संस्था जस्तो बनाए । वाणिज्य संघलाई शक्ति केन्द्र मात्रै बनाउनेहरुले व्यापारीको पक्षमा काम गर्न नसकेको निष्कर्ष छ ।

संघको निर्वाचनका लागि हालसम्म महासचिव मैनालीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने ढुवानी व्यवसायी निर्मल खत्रीले सदस्यमा र मोवाइल व्यवसायी युवराज निरौला र पुस्तक व्यवसायी गोमा भट्टराईले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । निरौला र भट्टराईले कुन पदमा उम्मेदवारी दिने भन्ने खुलाइएको छैन ।

प्रकाशित मिति : पुष २१, २०८० शनिबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]