जेष्ठ १५, २०८२ बुधबार

बिर्तामोडको सार्वजनिक सुनुवाईमा उठ्यो औषधि अभावदेखि लठिबद्र तारको सवाल

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडा नम्बर १ को सभाहलमा शुक्रवार वडा नम्बर १,२ र ५ को आर्थिक वर्ष २०८०-८१ को प्रथम चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई र नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले सहभागीहरुका प्रश्नको जवाफ दिए ।

सहभागीहरुले बीमाको औषधी अभाव, बजारमा बिना दर्ताको व्यवसाय सन्चालन, ईन्टरनेटका अव्यवस्थित तार, सडक निर्माण, मर्मत सम्भार, फोहोर व्यवस्थापन, पार्किंङको समस्या, लागुऔषध दुव्र्यसनी, निजी तथा सरकारी विद्यालय लगायत विभिन्न टोल विकास संस्थाका विषयमा प्रश्न गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले फोहोर व्यवस्थापनका लागि सबैले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरिन् । उनले स्रोतमै वर्गीकरण गर्न सुरु नगरेसम्म फोहोरको समस्या समाधान नहुने धारणा राखे । नगरपालिकालाई राम्रो र सुन्दर बनाउन जनप्रतिनिधि मात्रै नभएर सबैजना लाग्ने हो भने नमुना नगरपालिकाको रुपमा विकास गर्न सकिने बताइन् ।

नगर प्रमुख प्रसाईले २०७४ सालको निर्वाचनपछि नगरको शिक्षा क्षेत्रमा धेरै परिवर्तन आएको बताइन् । नीजि विद्यालयको तुलनामा पछि परेको सरकारी विद्यालयमा अहिले गर्वका साथ पढ्न जान, पठाउन सकिने अवस्था सृजना भएको धारणा राखेकी थिइन् । उनले आफुले समिति गठन गरेर नगरका १८ वटा सामुदायिक, ५८ वटा संस्थागत र २ वटा धार्मिक विद्यालयको अनुगमन गरी आवश्यकताको पहिचान र समाधान गर्दै यो स्थानसम्म आइपुगेको बताइन् । नगर प्रमुख प्रसाईले बिर्तामोडमा सौहार्द रुपमा विकासका कामहरु भईरहेको बताइन् । नगरको बजेट अनुसार सहि सदुपयोग गरेर कामहरु भइरहेको उनको भनाई थियो ।

यस्तै, नगर उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सरकारले गाउँपालिका र नगरपालिकामा जनसंख्याको हिसाबमा औषधी वतरण नगरी एउटै दरमा औषधी पठाउने भएका कारण बिर्तामोडमा निशुल्क औषधीको अभाव हुने गरेको बताए । उनले अभाब भएको औषधी नगरपालिकाले खरिद गर्न पाउने अधिकार समेत नभएकोले कानूनी समस्या रहेको जानकारी दिए ।

उपप्रमुख संग्रौलाले बिर्तामोडमा १ लाख ६५ हजार भन्दा बढीको वसोवास रहेको बताए । उपप्रमुख संग्रौलाले सार्वजनिक स्थानमा कुकुरलाई दिशा पिसाव गराउनेलाइ ५ हजार भन्दा बढी जरिवाना सहित कार्वाही हुने र यसका लागि टोल विकास समितिले ध्यान दिनुपर्ने बताए ।

यस्तै नगरमा दर्ता, नविकरण नगरिकन सन्चालन गरेका व्यवसायीलाई कानूनी कार्वाही गरिने भन्दै सबैलाई करको दायरामा आउन सुझाव दिए । उनले बजारमा अखाद्य वस्तु बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमन तथा कार्वाहि समेत भइरहेको नगर उपप्रमुख संग्रौलाले जानकारी दिए ।

वडाको सडक, विद्युत पोल, अव्यवस्थित ईन्टरनेटका तारलगायतका विषयमा उठेका प्रश्नमा वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र रोहित प्रसाईले जवाफ दिए । यस्तै शिक्षाको क्षेत्रमा उठेको प्रश्नहरुको जबाफ निमित्त प्रमुख प्रशासकीय अधिकृत शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण झापा युनेस्को संघ नेपालका विजय तिम्सिनाले गरको थिए । कार्यक्रममा कार्यपालिका सदस्य तथा वडासदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]