एनआरटीले जित्यो इलाम गोल्डकपको उपाधि
बिर्तामोड । इलाममा सम्पन्न प्रथम इलाम गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । इलामको ठुलो टुँडिखेलमा सञ्चालित प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको हो ।
निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकर खेलाइएको थियो । विजेता एनआरटीले गोल्डकपको उपाधिसँगै नगद पाँच लाख पुरस्कार प्राप्त गरेको छ भने झापाले नगद ३ लाख रुपैयाँमा चित्त बुझायो । आजको खेलमा म्यान अफ द म्याच बिर्तामोड युनाइटेडका हिसुब थपलिया बने । उनले नगद ५ हजार प्राप्त गरे ।
रेडहर्ष क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा सर्वाधिक गोलकर्ता आयोजकका नवयुग श्रेष्ठ बने । उनले ४ गोल गरेका थिए । उत्कृष्ट गोलकिपर एनआरटीका प्रिसु बने भने उत्कृष्ट मिडफिल्डर बिर्तामोडका योगेश गुरुङ बने । उत्कृष्ट डिफेन्डर बिर्तामोडका सन्जित राई र उदीयमान खेलाडी आयोजक रेड हर्षका विवेक मगर बने ।
उत्कृष्ट फरवार्ड एनआरटीका राजीव लोप्चन बने भने सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका रोहण कार्की घोषित भए । यसैगरी उत्कृष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ बने । उनीहरूले विधागततर्फ जनही १०–१० हजार नगद र ट्रफी प्राप्त गरेका छन् ।