विषादी प्रयोग शून्य बनाउने प्रयास गरौं
सम्पादकीय
दैनिक उपभोग्य वस्तुको खरिदमा हदैसम्मको ध्यान पुराएन भने त्यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्छ । अझ, तरकारी र फलफूलको कुरा गर्ने हो भने जाँच नभएको खरिद नगरेकै राम्रो हुन्छ । तरकारीबारीमा किसानले विषादीको प्रयोग ज्यादै गर्ने र उत्पादन पनि बढाउने गरेका छन् । उत्पादनका लागि विषादीको प्रयोग गरेर बजारमा ल्याइएका तरकारीहरु मानव स्वास्थ्यका लागि हानिकारक छ । मानव स्वास्थ्य किसानको हातमा निर्भर छ । उत्पादनलाई मानव स्वास्थ्य अनुकुलभन्दा पनि आर्थिक फाइदा हेरियो भने जीवन धरापमा पर्ने निश्चित छ ।
झापाको बिर्तामोडमा रहेको कृषिथोक बजार पूर्वको ठुलो तरकारी बजार हो । जहाँ नेपाल, भारत मात्र होइन अन्य राष्ट्रबाट तरकारी र फलफूलको आयात हुने गरेको छ । कृषिथोक बजारमा पहाडी क्षेत्रमा उत्पादित तरकारी धेरैभन्दा आयात हुने गरेको छ । झापाका गाउँगाउँदेखि किसानले बिर्तामोडमा तरकारी विक्रीका लागि आउने गरेका छन् । यो बजारमा एक बेला सागमा समेत विषादीको प्रयोग ज्यादा गरेको भेटियो । उपभोग गर्न नमिल्ने गरि हरेक दिन तरकारीहरु भेटाइन्थ्यो । कृषिथोकमा रहेको विषादी जाँच गर्ने प्रयोगशालामा त्यसबेला दैनिक उपभोग गर्न अयोग्य कृषिवस्तु भेटिने गरेको थियो ।
पछिल्लो समय किसानमा व्यापक जागरण ल्याए पछि विषादी प्रयोगको मात्रा घटेको पाइन्छ । नेपाल, भारत तथा अन्य राष्ट्रबाट आयात गरिने तरकारी तथा फलफूल अहिले पनि नियमित जाँच भइरहेको छ । केहि समय यता, विषादीको मात्रा अत्यन्तै कम भेटिरहेको छ । अब, किसानलाई विषादीको प्रयोग शून्य बनाउने गरी लाग्न प्रेरित गर्नुपर्ने छ । व्यवसायीहरु मात्र होइन, किसानलाई स्थानीय सरकारले पनि विषादीरहित उत्पादन गर्नका लागि सहयोग गर्न अपरिहार्य छ । बजारमा पाइने तरकारीमा विषादीको मात्रा घटेको पाइए पनि धोइपखाली राम्रो गरेर मात्र उपभोग गर्नुपर्छ ।