बैशाख २९, २०८२ सोमबार

नेत्र पार्कमा देखिएको उत्साह

सम्पादकीय
करोडौं लगानी गरेर पनि संरक्षण नभएको बिर्तामोड –७ स्थित शहिद नेत्र पार्कमा अहिले श्रमदान गर्नेहरुको भीड छ । हरेक दिन श्रमदान गर्न त्यहाँ विभिन्न ठाउँबाट नागरिकहरुको उपस्थिति भइरहेको छ । संघ संस्था, युवा क्वल, महिला समूह, राजनीतिक दलका नेता कार्यकर्ता र जनप्रतिनिधिहरु श्रमदानमा भिडिरहेका छन् । श्रमदान गर्न जानेहरुको लर्को नै लाग्ने गरेको छ । प्राकृतिक हिसावले सुन्दर नेत्र पार्क केहि वर्षयता चर्चामा थियो । चर्चामा आइरहे पनि सञ्चालनमा आउन नसकेको पार्कलाई अब वडा नं. ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा पूर्ण रुपमा सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि हरेक दिन उत्साहपूर्ण ढंगबाट श्रमदान भइरहेको पाइन्छ ।

बिर्तामोड नगरपालिकाको अग्रसरता पछि पार्क सञ्चालन हुने विश्वास बढेर गएको छ । जिल्लामा रहेका अन्य सामुदायिक वनले यस प्रकारका संरचनाहरुको अधिकतम प्रयोग गरेर आम्दानीको बलियो श्रोत बनाइएको छ । छिमेकी वनहरुले पर्यटक आउने बाटो बनाएका छन् । तर, नेत्र पार्क सधैं ओझेलमा परिरह्यो । तत्कालिन एमाले नेता नरेश खरेल लगायतको समितिले पार्कमा करोडौं लगानी गरे । तर, उनीहरुले पार्क निर्माण सम्पन्न नगरी छोडिदिए । जसका कारण पार्क वेवारिसे बन्यो । त्यहाँ भएको लगानी बारे आम्दानी खर्च अझैसम्म पारदर्शी हुन सकेको छैन । यसको खोजी हुनुपर्छ ।

पार्कमा भइरहेको श्रमदानले मुख्यतः सरसफाईलाई प्राथमिकता दिएको छ । सरसफाई नभएसम्म पार्क क्षेत्र सञ्चालनको लागि संभव छैन । सरसफाईसँगै नेत्र पार्कलाई आवश्यक संरचनाहरुको व्यवस्थापन गरिनुपर्छ । स्थानीयबासीहरुको समेत उत्साहजनक सहभागिताले पार्कको काँचुली फेरिने निश्चित छ । अब, यसलाई चाँडै सञ्चालनमा ल्याउन यसको संरक्षण गर्ने जिम्मेवारी कसैलाई दिनैपर्छ । स्थानीय सरकार होस् या वन कसैले यसको पूर्ण सुरक्षाको जिम्मेवारी लिनुपर्छ । करोडौं लगानी गरिएको ठाउँमा अधिकांश सामग्री चोरी भइसकेको छ । चोरी नियन्त्रणका लागि विगतमा कसैले पनि चासो दिएको पाइदैन । तर, अबका दिनमा यसको संरक्षणमा सबैले प्राथमिकता दिनैपर्छ । श्रमदानपछि पार्क क्षेत्र सुन्दर बन्दैछ, रुखहरु रंगिदैछन् । त्यसैले पार्कलाई थप व्यवस्ति गर्दै लैजान सबैले स्वार्थ त्याग गर्नैपर्छ । तब मात्र अहिलेको निस्वार्थ योगदानको अर्थ रहन्छ ।

प्रकाशित मिति : माघ १५, २०८० सोमबार  ६ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]