बैशाख २५, २०८२ बिहीबार

झापामा विद्यालयभित्र शैक्षिक सामग्री विक्री गर्नेलाई १० हजार जरिवाना

कनकाई । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले विद्यालयतहमा पाठ्यपुस्तक र शैक्षिक सामग्री बिक्री बितरण गर्ने व्यवसायीलाई आर्थिक रुपमा दण्डीत गर्ने निर्णय गरको छ ।

कनकाई नगरपालिकास्थित सुस्त मनस्थिती सरोकार समाजको कार्यालयमा ११ औ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर आयोजना गरेको विविध कार्यक्रम पछि बसेको जिल्ला समितिको बैठकले व्यवसायी वा गैह्र व्यवसायी मार्फत विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरेको पाएमा पहिलो पटक १० हजार र त्यसपछि पटकै पिच्छे साविकको जरिवानामा दोब्बर जरिवाना गर्ने नियम बनेको महासंघ झापाका बरिष्ठ उपाध्यक्ष सुमन खनालले बताए ।

विद्यालय हातामा कुनै पनि शैक्षिक सामग्री बिक्री बितरण गर्न नपाउने कानुनी प्रावधान छ । विद्यालय हातामा शैक्षिक सामग्रीको बिक्री बितरण गरेको पाईएका ति बस्तुको जफत गरि स्थानीय तहमा बुझाउने र विद्यालयलाई विभागीय कार्वाहीका लागि नेपाल सरकारका निकायमा पत्राचार गर्ने पनि निर्णय भएको महासङघ झापाले जनाएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरीको सदस्यता लिन वा नविकरण गर्न छुटेका व्यवसायीको हकमा फागुन मसान्त सम्मको समय सिमा थप भएको छ । साविकको शुल्कमा विलम्ब शुल्क बुझाएर व्यवसायीक फर्म दर्ता वा नविकरण गर्न सकिने महासंघ झापाले जनाएको छ ।

यसअघि १ हजार ५ सय बुझाएर महासंघ झापाको सदस्यता लिन सकिने प्रावधान थियो । अब, ३ हजार बुझाएर सदस्यता खरिद गर्न पाउने महासंघले निर्णय गरेको छ । महासंघ झापाका सचिव चन्द्रमणि घिमिरेका अनुसार बिलम्ब शुल्क ३ हजार तिरेर फागुन मसान्तसम्मको समय सीमा थप गरिएको हो ।
यस्तै महासंघले पुस्तकको अंकित मुल्यमा खुद्रा विक्रेताले पाउँदै आएको सुविधा बृद्धि गर्न गराउनका लागि लिखित रुपमा पहल गर्ने निर्णय गरेको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघको केन्द्रिय समिति, प्रदेश समिति, प्रकाशक संघ र प्रकाशन गृहलाई लिखित रुपमा आग्रह गर्ने निर्णय भएको छ । झापाले पाउदै आएको सुविधा कटौती भएको विषयमा व्यवसायी व्यवसायी बिच गम्भीर समिक्षा पनि भएको थियो । आगामी शैक्षिक सत्र देखि पाठ्यपुस्तकको खरिद बिक्रीमा नगदको कारोवार हुने पनि निर्णय भएको छ ।

गएको माघ १२ गतेको पाठ्यपुस्तकका अधिकृत विक्रेता, बजार प्रतिनिधि र खुद्रा बिक्रेताको संयुक्त भेलाले पाठ्यपुस्तकको खरिद बिक्री वितरणलाई मर्यादित, व्यवस्थित र सहज रुपमा अगाडी बढाउन केही नीतिगत निर्णयका लागि कार्यदल गठन गरेको थियो ।

महासंघ झापाका सल्लाहकार समितिका संयोजक फडिन्द्रराज न्यौपानेको संयोजकत्वमा पाँच सदस्य कार्यदलको फागुन १ गते बसेको बैठकले ८ बुदे निर्णय गरेर महासंघ झापामा बुझाएको थियो । कार्यदलको निर्णयलाई महासंघघ झापाको बुधबार बसेको बैठकले अनुमोदन गरि प्राप्त निर्णयलाई कार्यान्वयन गर्ने महासंघ झापाले निर्णय गरेको छ ।
यसैबीच ११ औ राष्ट्रिय पु्स्तक दिवसको अवसर पारेर नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले कनकाई १ स्थित सुस्त मनस्थिती सरोकार समाजका १५ जना अपाङग बालबालिकाको निशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरेको छ । उनीहरुलाई महासंघघले पाठ्यपुस्तक, शैक्षिक सामाग्री, खेलौना, खाद्यन्न लगायतका सामग्री प्रदान गरेको छ ।

महासंघ झापाले सुस्त मनस्थिती सरोकार समाजलाई नेपालको राष्ट्रिय झन्डा पनि प्रदान गरेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश अध्यक्ष जीवन प्रसाद नेपाल, उपसचिव टंक भट्टराई र सदस्य सुरेन्द्र दाहाललाई सम्मान सहित बधाई ज्ञापन गरिएको छ । नगर प्रमुख पोख्रेलले तीनै जनालाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान गरेका हुन् ।

नगर प्रमुख पोख्रेलले स्थानीय तहका व्यवसायीको अधिकार संरक्षण गर्न कनकाई नगरले कुनै पनि कसुर बाँकी नराख्ने बताए । ‘नगरपालिकाले गर्ने हरेक सहयोग वैधानिक हुन्छ । कानुन भन्दा बाहिर नजाने प्रकृतिको सहयोग गर्न नगरपालिका सधै तत्पर छ,’ उनले भने ।

महासंघ झापाका अध्यक्ष विनोद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्य रविन बराल, कोशी प्रदेश अध्यक्ष जीवन प्रसाद नेपाल, पूर्व केन्द्रिय सदस्य फडिन्द्रराज न्यौपाने, सल्लाहकार समितिका सदस्य पुष्पराज प्रसाईँ लगायतको सहभागिता थियो । महासंघ झापाका सदस्य दुर्गा प्रसाद घिमिरेले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव चुडामणि घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]