वामपंथीहरु एक हुनुपर्ने जनवादी गीति कार्यक्रमको सन्देश
गोलधाप । झापाको बाह्रदशीमा – ५ ( प्रजापति टोल) गोलधाप आज जनवादी गीतहरुले गुञ्जायमान भयो । निरंकुश पञ्चायत विरुद्ध बामपंथीहरुले गरेको संघर्ष सम्झाउने माहोलमा जनवादी गायक राजन राई बेजोडले प्रस्तुत भए । निरंकुशता विरुद्ध खरो उत्रिने जनवादी गायक राईको गीतहरुले सहभागीहरुलाई ०४३ सालतिरै फर्काएको थियो ।
शहिद प्रजापति सापकोटा स्मृति प्रतिष्ठानले आयोजना गरेको बृहत जनवादी गीति कार्यक्रममा गायक राईले कालजयी गीतहरु प्रस्तुत गरेका थिए । गायक राईले कान थापेर सनि देउ बहिनी, रितीथिती बिग्रेर गईसक्यो,शिरैमा मेरो शिरैको टोपी, काँधैमा गल्बन्दी, जोबन यसै ढल्कनै लाग्यो केही गरौ सँगिनी, ‘ तारा खस्यौली, माया रुदै बस्यौली, फूलै र फूल्यो दुई थुंगा लर्केर,‘ ए कोशी दोभान, ख्यालख्यालैमा गयो जोभान (देउमाई किनार), क्षितिजै पारी त्यो गाँउ मेरो डाँडैले छेकेको, प्रवासी जीवन विताउनु मैले दुष्टको खेलै हो,‘ हाँसखेल गर्दैमा छुट्टिने बेलै भो ख्यालख्यालैमा लगायतका जनवादीहरु प्रस्तुत गरेका थिए ।
उनको गीत सुन्नका लागि झापा र झापा बाहिरका पुराना र नयाँ गणतन्त्रवादी पुस्ताको सहभागिता थियो । गीत सुनेपछि पाका उमेरका सहभागीहरुले निरंकुश पञ्चायत विरुद्ध गरेको संघर्षको समयलाई स्मरण गराएको प्रतिक्रिया दिएका थिए । उनीहरुले पञ्चायत विरुद्धको संघर्षलाई ताजै बनाएको बताए ।
जनवादी गीतको संरक्षण र वामपन्थीहरुको एकताका लागि आयोजना गरिएको कार्यक्रममा निरंकुश पञ्चायतीहरु विरुद्ध एक हुनुपर्ने सन्देश दिइएको थियो । साथै, गणतन्त्रवादीहरु पनि सच्चिनुपर्ने कार्यक्रमको उद्देश्य थियो । जनवादी गायक राई अझै पनि निरंकुशता विरुद्ध लडेका नेताहरुलाई गीतले उल्टै गिज्याइरहेको बताउँछन् । जनताको जीवनमा परिवर्तन नल्याएसम्म जनवादी गीतहरु जीवीत रहने उनको धारणा छ ।
जनवादी गीतका सर्जक राईको प्रस्तुति अघि स्थानीय कलाकारहरु गोपाल योङहाङ नेतृत्वको टोलीले गीतहरु प्रस्तुत गरेका थिए ।
झापामा पहिलो पटक आयोजना गरिएको जनवादी गीति कार्यक्रममा उत्साहजनक सहभागिता थियो । बाह्रदर्शी –५ प्रजापति टोल भनिए पनि उक्त क्षेत्रलाई गोलधापकै रुपमा चिनिन्छ । झापा क्षेत्र नं. ३ मा पर्ने प्रजापति टोलको एउटै आवाज थियो, ‘जसका विरुद्ध लढ्यौं, उसैलाई भोट दिन सक्दैनौं ।’ कार्यक्रममा स्वागत गर्दै प्रतिष्ठानका सचिव रुद्र सेढाईले पनि त्यहि कुरालाई दोहोर्याएका थिए । कुनै पनि हालतमा बामपंथी विरुद्ध दमन गर्नेहरुलाई मत दिन सक्दैनौ, आगामी दिनमा पार्टीले त्यो कुरालाई गम्भीरताका साथ लिइदियोस्, उनले थपे ।
प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका सचिव योगेश भट्टराई थिए । उनलाई सबैको आग्रह थियो, निरंकुशताको अवशेष बचाई राख्ने कुनै प्रयत्नहरु नहुन् ।
प्रमुख अतिथी भट्टराईले शहिदको योगदानलाई नेकपा एमालेले नविर्सिएको बताएका छन् । उनले कुनै कालखण्डमा गल्ती कमजोरी भए आगामी दिनमा सच्याउदै जाने बताए ।
प्रतिष्ठानले प्रजापति सापकोटाको योगदानलाई सम्मान गरेकोमा धन्यवाद दिदैं राष्ट्रिय शहिद घोषणामा पार्टी र व्यक्तिगत रुपमा लागिपर्ने बताएका हुन् । उनले झापा ३ का जनताले आगामी निर्वाचनमा सुर्यलाई नै भोट दिन पाउने बताए । यसअघि परिस्थितिले अनपेक्षित निर्णय भए पनि सच्याएर जाने बताए ।
कार्यक्रममा सनलाईट म्यूजिक स्टुडियोको प्राविधिक सहयोग रहेको प्रतिष्ठानका सहसचिव अनिल सापकोटाले जानकारी दिए ।
बामपन्थी अगुवा सापकोटालाई २०४३ सालको तिहारमा जनवादी देउसी भैलो खेल्ने क्रममा पञ्चायती व्यबस्थाका समर्थकले हत्या गरेका थिए । उनकै सम्झनामा प्रतिष्ठान स्थापना गरिएको छ ।