काँग्रेस विश्वासघाती हो : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफूमाथि निजी आक्षेप लगाएको भन्दै प्रतिवाद गरेका छन् । उनले आफूले होइन, काँग्रेसले पटक–पटक विश्वासघात गरेको समेत बताए ।
विश्वासको मत लिने प्रस्ताव पेश गर्दै उनले चुनाव लगत्तै काँग्रेसले विश्वासघात गरेको बताए । उनले भने, ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतृत्वको पार्टीले नेपाली काँग्रेसलाई सबभन्दा ठुलो दल बनाउन मद्दत गर्यो, त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको परिणाम नेकपा एमालेका लगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेको थिएँ ।’
सरकार पुनर्गठन र मन्त्रालय हेरफेर गर्न चाहे पनि गठबन्धनमा सहमति नभएको उनले बताए ।
त्यसपछि आफूले गठबन्धन परिवर्तन गरेको उनले बताए । यो सामान्य राजनीतिक प्रक्रिया मात्र भए पनि काँग्रेसले अराजनीतिक व्याख्या गरेको र कतिपयले निजी आक्षेप लगाएको भन्दै उनले प्रतिवाद गरे ।
कुनै समय राजनीतिक सहमति कार्यान्वयन गर्दा काँग्रेसकै नेताले ‘राजनेता’ भनेको स्मरण गर्दै उनले भने, ‘लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा कसरी विश्वासघाती र धोकेबाज भएँ ?’
काँग्रेसका विचार समूहको द्वन्द्वले सरकार र गठबन्धनमा परेको प्रभावबाट समेत आफू आजित भएको उनले सुनाए । तर अहिले युद्धविराम नै गरेर आफ्नो निन्दा अभियानमा प्रतिस्पर्धा गरेको महसुस भएको भन्दै उनले भने, ‘आज मैले गठबन्धनमा गरेको परिवर्तनबाट काँग्रेसभित्र एकताको कारक बन्न पाएको खुसी छु ।’
उनले अगाडि भने, ‘यो युद्धविराम भएको छ, यसलाई स्थायी बनाउनु होला । यसलाई शान्तिमा बदल्नु होला ।’