आज बिर्तामोडको कृषि बजार समितिले अध्यक्ष चयन गर्ने
बिर्तामोड । विवादका बीच स्थगित भएको बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समितिको निर्वाचन आज हुदैछ । यसअघि व्यवसायीको नेतृत्व छानेको कृषि बजारले माघ २१ गतेबाट प्रक्रिया स्थगित गरेको थियो ।
व्यवसायी र कृषकबाट सदस्य छनौट गरेर समिति बनाइने कृषि बजारमा आज ११ बजे कृषक सदस्य छानिदैछन् । तीन जना सदस्य छानेर त्यस पश्चात समितिको अध्यक्ष चयन गरिने निर्वाचन कार्यक्रम रहेको छ । ४० जना कृषक प्रतिनिधिबाट ३ जना सदस्य चयन गरिने व्यवस्था छ ।
बजारबाट तीन जना व्यवसायी यसअघि नै छानिएका छन् । सदस्यहरुमा खगेन्द्र महतो, ज्योती खतिवडा र इन्द्रजीज चौधरी रहेका छन् । ३ व्यवसायी सदस्य सहित ६ जनाबाट एक जना अध्यक्ष हुने व्यवस्था छ । सर्वसम्मतबाट अध्यक्ष छानिने भए पनि सर्वसम्मत हुने संभावना कम देखिएको छ । कृषि बजारमा पनि दलहरुबीच कै प्रतिष्पर्धा हुने लगभग पक्का भएको छ । एमाले र कांग्रेस कै जुँगाको लडाई भएको कृषि बजारमा एमाले पक्ष बलियो देखिन्छ । एमालेलाई राप्रपाले पनि साथ दिएको छ ।