जेष्ठ ९, २०८२ बिहीबार

बिर्तामोड सेरोफेरो : रफ्तारमा स्वास्थ्य सेवा विस्तार

जनसंख्याका हिसावले जिल्लाकै दोस्रो ठुलो स्थानीय तह बिर्तामोड नगरपालिकाले स्वास्थ्य सेवालाई क्रमिक रुपमा विस्तार गर्दै गइरहेको छ । केहि वर्षअघिसम्म समस्याग्रस्त स्वास्थ्य सेवाको क्षेत्रमा बृहत सुधार गरिरहेको छ ।

उपचारका लागि निजी अस्पताल जानैपर्ने बाध्यतालाई बिर्तामोड नगरपालिकाले कम गर्दैछ । नियमितदेखि विशेषज्ञ सेवाहरु समेत उपलब्ध हुन थालेपछि नागरिकको चाप बढ्दो छ । बिर्तामोडका अधिकांश सरकारी स्वास्थ्य संस्थाप्रति सेवा विस्तारसँगै नागरिकको विश्वास पनि बढ्दो क्रममा छ ।

भुगोल, जनसंख्या र शहरीकरणको आधारमा बिर्तामोडलाई स्वास्थ्य सेवा विस्तार गर्नैपर्ने बाध्यताहरु छन् । जसको कारण गत वर्षबाट बिर्तामोड नगर अस्पताल सञ्चालनमा आइसकेको छ ।

नगर अस्पताल, २ वटा स्वास्थ्य चौकी र ८ वटा आधारभुत स्वास्थ्य केन्द्रबाट नागरिकलाई उपचार सेवा दिइरहेको जनस्वास्थ्य अधिकृत राजिव विष्टले जानकारी दिए । उनका अनुुसार नगर अस्पतालमा दैनिक ४ देखि ५ सय विरामीहरुले सेवा पाइरहेका छन् । वडा नं. ३ मा नगर अस्पताल, वडा नं. २ र ८ मा स्वास्थ्य चौकी र वडा नं. १,४,५,६,७,९ र वडा नं. १० मा दुई वटा आधारभुत स्वास्थ्य केन्द्रबाट नागरिकलाई उपचार सेवा प्रदान गर्दै आएको बताइएको छ ।

नगर अस्पतालमा अत्याधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, स्वास्थ्य बीमा सेवा सहित सेवा सञ्चालनमा रहेको नगर अस्पतालमा नियमित सेवा, २४ घण्टे प्रसुति सेवा, पोषण सेवा, एकीकृत बालरोग व्यवस्थापन सेवा, खोप सेवा, नसर्ने रोगको व्यवस्थापन सेवा, महामारी नियन्त्रण कार्यक्रम, परिवार नियोजन, गर्भपतन, रेविज भेक्सिन सेवा उपलब्ध छ ।

स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन डा. सुनिल अधिकारी (एमडीजीपी), डा.रविन रेग्मी बोलरोग विशेषज्ञ, डा.दिक्षा उप्रेती मानसिक तथा नशा रोग विशेषज्ञ, डा.शिवेस चौधरी स्त्री तथा प्रसुति रोग विषेशज्ञ, डा. अख्तर अली रेडियोलोजिष्ट र दुई जना मेडिकल अधिकृत डा. आयाम भट्टराई र डा.नरबहादुर अधिकारी लगायतको टिम क्रियाशिल रहेको छ ।

निशुल्क गर्भपतन सेवा समेत उपलब्ध गराइरहेको अस्पतालमा एम्बुलेन्स खरिदको प्रक्रिया अघि बढाइएको छ । एम्बुलेन्स खरिदपछि नागरिकलाई थप सुविधा पुग्ने छ ।

बिर्तामोड नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई थप सुविधा सम्पन्न बनाउन दरवन्दी व्यवस्थापनलाई ध्यान दिनुपर्ने देखिन्छ । अस्पतालमा विशेषज्ञ सेवा थप गरेर अस्पतालको सम्पूर्ण सेवालाई २४ घण्टा उपलब्ध गराउने योजना अनुसार नगरपालिका अघि बढेको छ । नगर अस्पतालको सेवालाई विस्तार गर्नका लागि नयाँ भवन निर्माणको चरणमा रहेको बताइएको छ ।

जिल्लाकै उत्कृष्ट व्यवस्थापनमा सञ्चालन भइरहेको वर्थिङ सेन्टरमा अहिले शल्यक्रियाको सेवा छैन । नयाँ भवन र जनशक्तिको व्यवस्थापन लगत्तै शल्यक्रियाबाट पनि प्रसुति सेवा उपलब्ध गराउने योजना रहेको छ । अस्पतालले सेवा विस्तारका लागि ३ जना मेडिकल अधिकृतसहित ठुलो संख्यामा जनशक्ति माग गरिएको छ ।

स्वास्थ्य सेवामा अब्बल हुँदै गएको बिर्तामोड नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई विषेश प्राथमिकता दिएको छ । गत वर्षबाट स्वास्थ्य सेवा बढाउने र संरचनागत सुधारमा समेत लगानी बढाउने योजना जनप्रतिनिधि र अस्पताल व्यवस्थापन समितिको देखिन्छ ।

सरकारी स्वास्थ्य संस्था भन्दै हेर्ने दृष्टिकोण कमजोर बनाए पनि ०८० साउन महिनायता ६५० जना महिलाले पाठेघरको मुखको क्यान्सर जाँच (भीआईए) गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ६, २०८० मंगलबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]