असार २०, २०८२ शुक्रबार

बेलबारीमा श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या

विराटनगर : मोरङको बेलबारीमा एक जना वृद्ध पुरुषले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । बुधबार बिहान १ः४० बजेतिर बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको खुलेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएको थिए ।

बमबहादुरले दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेको प्रहरीले बताएको छ । उनका अनुसार दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो ।

पत्नीको विभत्स हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाएको थियो ।

अस्पताल ल्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । पति–पत्नीबीच के विषयमा विवाद भएर घटना भएको हो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुका ८ वर्षीय छोरा छन् ।

इप्रका बेलबारीका इन्सपेक्टर दाहाल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । डीएसपी दाहालले अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी दिए ।

प्रकाशित मिति : चैत्र ७, २०८० बुधबार  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]