नयाँ सरकार बनाउन कोशीमा एमाले र माओवादीबीच छलफल
झापा । कोशी प्रदेशमा नयाँ सरकार बनाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच छलफल सुरु भएको छ । प्रदेशमा सरकार परिवर्तन गर्ने विषयमा आइतबार एमाले र माओवादीका नेताहरुले छलफल गरेका हुन् ।
बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्की, उपनेता रामबहादुर राना, प्रमुख सचेतक रेवतीरण भण्डारी सहभागी थिए । यस्तै माओवादीका तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, प्रदेश सदस्य तथा पूर्वमन्त्रीहरु दुर्गाप्रसाद चापागाईं, बाबुराम गौतम र जीवन आचार्य सहभागी थिए ।
छलफलमा एकदुई दिनभै मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया थाल्ने सहमति भएको छलफलमा सहभागी एक नेताले बताए ।
यद्यपि, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई बैठकमा सहभागी नभएका कारण सोमवारसम्मका लागि बैठक स्थगित भएको छ । राई गृहजिल्ला भोजपुरमा भएकाले उनलाई पर्खिने सहमति भएको ती नेताले बताए ।
छलफलमा सहभागी एक सांसदका अनुसार नयाँ गठबन्धनका सबै दलका सांसदहरुले संयुक्त समर्थन फिर्ता लिने सहमति जुटेको छ ।
केदार कार्कीले एमालेकै सहयोगमा मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरेका थिए । गत असोज २७ गते नेकपा एमालेका ३९ र नेपाली काँग्रेसका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए ।
तत्कालीन सत्ता गठबन्धनले नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कार्कीले ८ सांसद लिएर विद्रोह गरेका थिए । त्यसबेला कार्कीको विद्रोहलाई एमालेले साथ दिएको थियो ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले शपथ लिएपछि एमालेका रामबहादुर राना र विद्रोही सांसद शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएपछि कात्तिक १६ गते माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
कार्कीले विश्वासको मत लिँदा प्रदेशसभामा ६ सांसद भएको राप्रपा बाहेक सबै दलले मत दिएका थिए । कोशी सरकारमा अहिले केन्द्रको गठबन्धनमा भएका नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहभागी छन् । जनता समाजवादी पार्टीले सरकारलाई समर्थन दिएपनि सरकारमा सहभागी भएको छैन् ।