बैशाख २०, २०८२ शनिबार

झापाको एकमात्र महिला सरकारी सवारी चालक

महिलालाई चालक बन्न परिवारबाटै अवरोध

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजिक एक कार्यक्रममा हलभरी सहभागी थिए, सरकारी सवारी चालक । सरकारी सवारी चालकले भरिएको हलमा भेटिइन्, लीला बास्ताकोटी । पुरुष चालकहरुको बिचमा भेटिएकी उनी जिल्लाकै एक मात्र महिला सरकारी चालक हुन् ।

दमक नगरपालिकाको एम्बुलेन्स चलाउदै आएकी उनले व्यवसायिक रुपमा कोशी प्रदेशमा महिला चालक नभएको जानकारी दिइन् । उनले भनिन्, देशमै ज्याला, मजदुरी गरेर सरकारी सवारी चालकको रुपमा काम गर्ने अन्य महिला भएको जानकारीमा छैन । आफ्नै संस्था, एनजिओहरुमा भएको सुनेको छु ।

सरकारी सवारी चालक एशोसिएशन नेपाल झापाकी कोषाध्यक्ष समेत रहेकी उनले एम्बुलेन्स चलाएको ६ वर्ष भएको छ । २८ वर्षदेखि सवारी चलाइरहेकी उनले सार्वजनिक यातायात, निजी संस्था र अहिले एम्बुलेन्स चलाइरहेको जानकारी दिइन् ।

झापाको एक मात्र महिला सरकारी सवारी चालक बास्ताकोटीले महिलालाई सवारी चालक बन्न परिवारबाटै असहयोग हुने गरेको बताउँछिन् । उनले सवारी चालक बन्न महिलाहरुका लागि ठुलो संघर्षको विषय भएको बताइन् । आफु पनि ठुलै संघर्ष पार गरेर मात्रै चालक बन्न सफल भएको उनको प्रतिक्रिया छ ।

युएनडीपीमा समेत ३ वर्ष काम गरेकी उनले ९ जनाको प्रतिष्पर्धामा सहभागी भई एम्बुलेन्समा काम गर्न पाएको बताइन् । नगरपालिकाले महिलालाई प्राथमिकता समेत दिएको उनको भनाई थियो ।

अझै १० वर्षसम्म चालकको रुपमा काम गर्ने हिम्मत रहेको बताउदै उनले भनिन्, ‘यो पेशाले मलाई आत्मनिर्भर बनाएको छ । विरामीको सेवा गर्न पाउँदा खुशी छु ।’

सार्वजनिक यातायातमा काम गर्दा हरपल सडकमै हुनुपथ्र्यो, अहिले विरामीको फोन आएपछि जानुपर्छ । सार्वजनिक यातायातमा दिनभर काम गरे हुन्थ्यो, अहिले रातदिन विरामीको सेवा गर्न पाएको छु, उनले थपिन ।

पुरुषले मात्रै गर्ने काम भनेर महिलाहरुलाई चालक बन्न नदिएको उनको बुझाई छ । तर, महिलाहरुले पनि गर्न सक्ने काम भएकाले परिवारको सहयोग आवश्यक पर्ने बताइन् । नपढेका मान्छेले गर्ने काम भनेर ड्राइभर बन्न नै दिने चलन छैन । बास्ताकोटीका अनुसार अहिले एसईई चाहिन्छ, महिलाहरुले मज्जाले काम सक्छन् ।

योग्यता, सीप र आँट भएमा चालकको रुपमा काम गर्न सकिने भन्दै उनले अन्य महिलाहरुलाई समेत चालक बन्न प्रेरित गरेकी छन् ।

प्रकाशित मिति : बैशाख २०, २०८१ बिहीबार  ५ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]