नेकपा एमाले मुलुककै सर्वश्रेष्ठ पार्टी भएको प्रमाणित भयो : इञ्चार्ज भट्टराई
विनोद सापकोटा
झापा, जेठ १ । नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले इलामको संघीय र बझाङको प्रदेश निर्वाचनको मतपरिणामले नेकपा (एमाले) मुलुककै सर्वश्रेष्ठ राजनीतिक पार्टी प्रमाणित भएको बताएका छन् । उनले नेकपा एमाले अन्य राजनीतिक पार्टीको पनि नेता पार्टी भएको बताए ।
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको ३५औं स्थापना दिवसको अवसरमा झापाको झिलझिलेमा आयोजित सातौं पूर्ण बैठकको उद्घाटन गर्दै नेकपा एमाले झापाका इन्चार्ज समेत रहेका भट्टराईले इलाम र बझाङको मतपरिणामले मूलत नेपालमा स्थापित राजनीतिक दलका लागि तीन वटा महत्वपुर्ण सन्देश दिएको बताएका छन् ।
उनले भने,’ नेकपा एमालेले कुनै पनि हालतमा निर्वाचन जित्दैन भन्नेहरूका लागि इलाम र बझाङको मत परिणामले पहिलो शक्तिका रुपमा नेकपा एमाले स्थापित भएको मत परिणामले प्रमाणित गरेको छ ।’
भट्टराईले नयाँ शक्ति अर्थात् रवि लामिछानेले नेतृत्व गरेको घन्टी चुनाव चिन्हको राष्ट्रिय स्वतन्त्र पार्टीले जहाँ उम्मेदवार उठायो त्यहाँ चुनाव जित्यो भन्ने पछिल्लो जनलहर भ्रमका रूपमा सिद्ध रहेको बताए । उनले भने ‘पहिचान को मुद्दा लिएर निर्वाचनमा होमिएको एउटा क्षेत्रीय शक्तिलाई पनि उछिन्न नसक्नु कस्तो खालको राष्ट्रिय पार्टी हो,’ उनले भने । ‘खहरे भेल आउँछ तर छोटो समयमा स्याप्पै सुक्छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि त्यस्तै देखिन थालेको छ ।
उनले हाम्रो पार्टी सरकारमा गयो भने भ्रष्टचारका ठुला फायल खोल्ने र क्रमैसँग भ्रष्टहरुका पाता फर्काउने भन्ने यसअघिका अभिव्यक्ति स्टनबाजी भएको आरोप लगाए । ‘गोडा दुएक युट्युवर लिएर अघि पछि दौडाउदैमा जनताको अभिमत जित्न नसकिने पनि उनले बताए । सहकारीको अर्वो रुपैयाँ चुर्लुम्म बनाउने व्यक्ति नै बर्तमान सरकारको गृहमन्त्री हुँदा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनताले के आशा गर्लान ? उनले प्रश्न गरे ।
पार्टीपोलिटब्युरो सदस्य भट्टराईले पूर्वमा नेकपा एमालेले प्रदेशको नामांकन गर्ने विषयमा जाहेर गरेको मत इलामको मत परिणामले सत्य साबित गरिदिएको उनले बताए । प्रदेशको नाम कोशीको विषयमा उठेको राजनीतिक विवाद इलामको मत परिणामले सही की गलत भन्ने विषयमा सही जवाफ दिएको उनले बताए । ‘यदि नेकपा एमालेको नेतृत्वमा रहेको तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले प्रदेश सभाबाट दुई तिहाईभन्दा धेरै मतले अनुमोदन गरेको कोशी प्रदेशको नाम गलत भन्नेहरूका लागि यो मत परिणामले जवाफ दिएको बताए । उनले भने,‘ ढुँङगा हान्नेहरुले पनि अब धेरै बुझेर पश्चाताप गरे होलान् ।’
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले झापाका पालिकामा हुने पार्टीको नगर र गाउँ अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन हुनुपर्नेमा जोड दिए । विभिन्न गुट उपगुटका साथ कसैको अभीष्ट पूरा गर्नका निमित्त व्यक्तिगत रूपमा कसैले उम्मेदवारी घोषणा गर्दछ भने नेकपा एमालेका लागि त्यो घातक हुने उनले बताए ।
झापामा कमल गाउँपालिकाबाट सहमतिय नेतृत्व चयन भएको हुँदा जिल्लाका अन्य १४ पालिकाले यसलाई उदाहरणको रुपमा लिन पनि उनले आग्रह गरे ।
नेकपा एमाले झापाका अध्यक्ष समेत रहेका संविधानसभाका सदस्य प्रेम गिरीले स्थानीय तहको बजेट तथा नीति कार्यक्रममा युवा मैत्री बजेटका लागि स्थानीय तहलाई खबरदारी गर्न युवालाई सुझाएका छन् ।
कार्यक्रममा युवा संघकी केन्द्रिय सचिव अनिता कन्दङवा, युवा संघका केन्द्रिय सचिवालय सदस्य तथा झापा इन्चार्ज खगेन्द्रराज आङदेम्बे, केन्द्रिय सचिवालय सदस्य सागर पोर्तेल, निषा लिम्बु लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम राष्ट्रिय युवा संघ झापाका संयोजक फुर्वा लामाको अध्यक्षतामा भएको थियो । तामाङले ल्याएका सबै प्रस्ताव बैठकमा सहभागी सबैले ताली बजाएर पास गरेका थिए । उनले ८ वटा महत्वपुर्ण प्रस्ताव बैठकमा ल्याएका थिए ।
सो कार्यक्रममा नेकपा एमाले झापाको नयाँ नेतृत्वलाई सम्मान गरेको छ । पार्टी अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुँगेल, उपसचिव अनिता कन्दङवा, सदस्य निशा लिम्बु, सागर पोर्तेल लगायत कार्यक्रममा उपलब्ध जिल्लाका कार्यकारी नेतृत्व तथा जिल्ला सदस्यलाई सम्मान गरिएको थियो ।
यसअघि राष्ट्रिय युवा संघ नेपालको ३५ औ स्थापना दिवसको अवसरमा शिवसताक्षी नगरको वडा नम्बर १० स्थित लक्ष्मी नारायण मन्दिरका ३० जना वृद्धवृद्धालाई खाद्यन्न सहयोग गरेको थियो । युवा संघले चामल, दाल, नुन, तेल लगायतका खाद्यन्न प्रदान गरेको थियो ।