‘शिवसताक्षी शिक्षामा गरेको लगानी अनुसार नतिजा निकाल्ने योजनामा छ’
लगभग भौतिक पूर्वाधार सम्पन्न रहेको शिवसताक्षीको शिक्षा क्षेत्रमा अब गुणस्तरवृद्धिमा केन्द्रीत भइरहेको छ । कसरी हुन्छ, विद्यालय क्षेत्रमा सुधार ल्याएर शैक्षिक गुणस्तर वृद्धि गर्ने नगरको योजना छ । भौगोलिक हिसावले ठुलो शिवसताक्षी नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । २४ वटा संस्थागत, ३ वटा धार्मिक, २ वटा सामुदायिक सिकाई केन्द्र र ६२ वटा बालविकास केन्द्रहरु रहेका छन् । शिक्षा विभाग अन्तर्गत प्राविधिक विषय पठनपाठन गर्ने भानु मावि र गणेशमानसिंह अध्ययन प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।
शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छविलाल ढकालले नगरमा ६१ प्रतिशत विद्यार्थीहरु सामुदायिक र २९ प्रतिशत विद्यार्थीहरु निजी विद्यालयमा अध्ययन गरिरहेको जानकारी दिए । उनले शिक्षामा केन्द्रको ससर्त अनुदान र नगरको २ करोड ७० लाख ७५ हजारसहित कुल बजेट ३३ करोड ३८ लाख ७३ हजार रहेको बताए । नगरमा शिक्षा क्षेत्रमा कुल बजेटको २७ प्रतिशत लगानी भएको छ ।
गुणस्तर सुधारमा केन्द्रीत भएको शिवसताक्षी नगरपालिकाले कक्षा ८ को नतिजामा प्रगति हासिल गरेको छ । गत वर्षभन्दा राम्रो नतिजा आएको बताइएको छ । कक्षा ८ को उतिर्ण प्रतिशत ९४ र गत वर्षको नतिजा अनुसार एसईईमा ९३ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । कक्षा १२ को परीक्षामा २९ प्रतिशत मात्रै उर्तिर्ण भएको शिक्षा शाखाले जनाएको छ । उक्त नतिजाले कक्षा १२ मा थप मेहनत गर्नुपर्ने देखिएको छ । लगानी अनुसार परिणाम नआएपछि नगरको शिक्षा शाखाले नतिजा सुधारका लागि आवश्यक योजनासहित काम थालेको छ ।
स्मार्ट विद्यालय
गुणस्तर सुधारका लागि शिवसताक्षीले ३ वटा विद्यालयमा स्मार्ट विद्यालय कार्यक्रम सञ्चालन गरिरहेको छ । बाल सेवा आधारभुत विद्यालय, सुर्योदय आधारभुत विद्यालय र बालनिकुञ्ज माविमा कार्यक्रम सञ्चालन छन् । यो वर्ष पनि कार्यक्रम सञ्चालित विद्यालयहरुलाई निरन्तरता दिदैं ४ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने शिक्षा शाखा प्रमुख ढकालले जानकारी दिए । उनका अनुसार राष्ट्रिय रमणीय आधारभुत विद्यालय, लक्ष्मी नारायण मावि, झिलझिले मावि, लालपानी माविका कार्यक्रम सञ्चालन गरिनेछ ।
स्मार्ट विद्यालयको अवधारणा अनुसार कक्षाकोठाहरुलाई आकर्षक बनाइनेछ । प्रविधिमैत्री र अध्ययनका लागि वातावरणमैत्री बनाइने छ । शिक्षा शाखा प्रमुख भन्छन्, विद्यार्थीहरु कक्षा कोठा प्रवेश गर्दा पढौपढौं लागोस् । सिकाईलाई थप सहयोग पुग्ने गरिको कोठाहरु बन्नेछन् । यो कार्यकालमा हरेक वडामा १÷१ वटा विद्यालयलाई स्मार्ट विद्यालय बनाउने लक्ष्य रहेको छ ।
बाल निकुञ्ज माविलाई नगरपालिकाले बस खरिदका लागि १५ लाख सहयोग गरेको छ भने वडाले ५ लाख र बाँकी विद्यालयले व्यवस्थापन मिलाउने छ ।
ज्ञान घर निर्माण
नगरपालिकाले कक्षा ११ का विद्यार्थीहरुलाई निशुल्क अध्ययनको व्यवस्थासँगै प्राविधिक धार तर्फबाट विद्यार्थीहरुलाई समेत छात्रवृत्ति प्रदान गर्दै आएको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानमा पनि नगरपालिकाले गत वर्ष ४ जना विद्यार्थीहरुलाई ५० प्रतिशतमा अध्ययनको वातावरण मिलाएको थियो भने यो वर्ष पनि १ जना विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था मिलाएको छ ।
यस्तै, नगरपालिकाले नगरभित्र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले ज्ञान घर निर्माणको काम गरिरहेको छ । अध्ययन गर्ने बानीको विकास गर्न विभिन्न स्थानमा नगरपालिकाले ज्ञान घर निर्माण गरेको हो ।
शैक्षिक गुणस्तर सुधार गर्न कार्यशाला
शिवसताक्षी नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालासँग कार्यशाला पनि गर्ने भएको छ । शिक्षा शाखा प्रमुख ढकालका अनुसार कार्यशालाले विद्यालय क्षेत्रको कमजोरी सच्याउन मद्दत गर्नेछ भने गुणस्तर सुधारका लागि सुझावहरु संकलन गर्ने छ । ५ वटा विद्यालय छनौट गरेर नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ । सतासी आवि, शिव आवि, बालज्योती आवि,जनता आवि र भीमनारायण आविमा कार्यशालाको तयारी गरिएको छ । कार्यशालामा नगर प्रमुख, उपप्रमुख, शिक्षक कर्मचारी, अभिभावक र सरोकारवालाबीच पर्याप्त अन्तरक्रिया गरिने छ ।
पहिलो चरणमा वडा नं. ९ मा कार्यशाला सम्पन्न गरिएको छ । यस्तै, नगरभित्र दुई वटा विद्यालयमा लिम्बू भाषाको पठनपाठन भइरहेको छ । बालनिकुञ्ज मावि र बाल सेवा आधारभुत विद्यालयमा मातृभाष लिम्बू पाठ्यक्रममा पठनपाठन भइरहेको छ ।
नगरले स्रोत शिक्षकबाट अनुगमन तथा निरीक्षण गरिरहेको छ । विद्यालयहरुले शैक्षिक योजना बमोजिम काम गरे नगरेको पूर्वप्रधानाध्यापकहरुको समितिले अनुगमन गर्ने र समस्याको संकलन गरेर समाधानका लागि सहयोग गर्दै आइरहेको छ । नगरमा स्थानीय पाठ्यक्रम निर्माणका लागि विषय विज्ञ छनौट गर्ने ठाउँमा पुगिसकेको शिक्षा शाखाका प्रमुख ढकालले जानकारी दिए ।
मेयरसँग विद्यार्थी कार्यक्रम
शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम बनाएको शिवसताक्षीले रातदिनको मेहनतबाट शैक्षिक गुणस्तर सुधारमा परिणाम खोजिरहेको छ । त्यसका लागि आवश्यक योजना तथा कार्यक्रमहरु सञ्चालन पनि गरिरहेको छ ।
नगरमा यसअघिदेखि नगर प्रमुख र विद्यार्थीबीच अन्तरक्रिया गर्ने मेयरसँग विद्यार्थी कार्यक्रम सञ्चालन भइरहेको छ । विद्यार्थीहरुले खुलेर आफ्नो कुरा राख्न पाउने ठाउँ भएको मेयरसँग विद्यार्थी कार्यक्रम यो पटक पृथक बनाइएको छ । सोही कार्यक्रम अन्तर्गत पाक कला सिकाउने तयारी भएको छ । शैक्षिक विकाससँग सम्बन्धित अन्तरक्रिया समेत गरिने उक्त कार्यक्रमलाई सीप विकासको कार्यक्रमको रुपमा आयोजना गरिने शाखा प्रमुख ढकालले जानकारी दिए ।
कानुनी र नीतिगत समस्या नभए तत्कालै सेवा दिने शिक्षा शाखाले नगरक्षेत्रमा भौतिक पूर्वाधार निर्माणको काम धेरैजसो पुरा भइसकेको जनाएको छ । यसैले गुणस्तर सुधारको ठाउँमा पुगेको उनको भनाई छ । शिवसताक्षीले आवासीय विद्यालय समेत सञ्चालन गर्न सक्ने अवधारणा अघि सारिएको छ ।
जनप्रतिनिधिहरुको प्राथमिकता
शिवसताक्षीका जनप्रतिनिधिहरु सकारात्मक भएकाले नै शिक्षामा सुधारको प्रयास भइरहेको छ । शिक्षा शाखा प्रमुख ढकाल भन्छन्, शिक्षा सामाजिक विकासको क्षेत्र भएकाले जनप्रतिनिहरु धेरै सकारात्मक हुनुहुन्छ । उहाँहरु शिक्षामा परिवर्त ल्याउनका लागि क्रियाशिल भएको उनको भनाई छ ।
अहिले विद्यालयका समस्याहरु तत्कालै सम्बोधन हुन थालेका छन् । कानुनी र नीतिगत बाहेक शाखाका काम तत्कालै गरिदिने व्यवस्था शिक्षा शाखामा लागु भइरहेको छ ।
शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी संख्या भन्दा गुणस्तरीय परिणाम निकाल्न जोड दिइरहेको नगरपालिकाले सरोकारको राख्ने समुदाय र विद्यालयबीचको सम्बन्ध जोड्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको शाखा प्रमुख ढकालले जानकारी दिए । – शिवसताक्षी सेरोफेरोबाट