‘राज्य बलियो हुँदा मात्र नागरिक सुरक्षित हुन्छौं’
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले राज्य बलियो हुँदा मात्र नागरिक सुरक्षित हुने बताउनुभएको छ ।
सोमबार पेसागत महासंघ नेपाल राष्ट्रिय समितिले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले समाजमा देखिएको समस्या समाधान गर्न राज्य बलियो हुनु पर्ने बताउनुभयो । अहिले नेपाली समाजमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढाउने काम भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपालमा ज्ञानको दुरुपयोग गरेर समाजमा द्वन्द्व बढाउने काम गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
अहिले राज्य प्रति नागरिकको विश्वास, भरोसा र भय नभएको उहाँले बताउनुभयो । यो नै आजको प्रमुख चुनौती भएको पोखरेलले बताउनुभयो । ‘कमजोर राज्यले जनतालाई कहिले पनि सुख, समृद्धि दिन सक्दैन, त्यस कारण नेपाली समाजको आजको समस्या हल गर्ने हो भने राज्यलाई बलियो बनाउनु पर्छ, त्यसपछि मात्र नागरिकहरू सुरक्षित हुन्छन्’, उहाँले भन्नुभयो ।
नेपालको राजनीतिमा वैकल्पिक राजनीतिक शक्ति उदय भएको भ्रम फिँजाएर राजनीतिक अस्थिरता र सामाजिक अराजकता मच्चाउने काम भएको उहाँले बताउनुभयो । विकल्पको खोजीको नाममा नेपालको विकास र राजनीतिक स्थायित्वको यात्रालाई पछि धकेल्ने काम गरेको उहाँले प्रष्ट पार्नुभयो ।
नेपाली समाजको समस्याको उपचार सिद्धान्तको कुरा गरेर मात्र नहुने बताउनुभयो । अहिले आफ्नो माग राख्न अफिस अगाडि धुलो फाल्ने काठमाडौंका मेयरलाई आइडल मान्न लागिएको उहाँको भनाई छ ।
काठमाडौंका मेयर बालेन्द्र साहले आफ्नो माग राख्नका लागि सफा राख्नुपर्ने सहर फोहोर गर्दै हिँडेको उहाँले बताउनुभयो । भन्दै समाज यस्तोको हातमा दिएर सुशासन र समृद्धिको कुरा सम्भव नभएको पोखरेलले स्पष्ट पार्नुभयो । ‘हाम्रो समाजको आइकन हामी कसलाई बनाउन खोज्दैछौँ भनेर भन्दा काठमाडौंको मेयरलाई, जसले आफ्नो माग राख्नको लागि काठमाडौंका कार्यालयमा लगेर धुलो फ्याँक्छ’, उहाँले भन्नुभयो ।
जान्नेलाई छान्ने भन्ने मिठा मिठा नारा लगाउनेको पछाडि सामाजिक सञ्जाल दौडिएको उहाँले बताउनुभयो । यस्ता मिठो कुराले देश सफलताको बाटोमा अघि नबढ्ने पोखरेलको भनाइ छ । ‘राजनीतिक नेतृत्वको सफलता नै सबै चिजको आधार हो’, पोखरेलले भन्नुभयो ।