असार ७, २०८२ शनिबार

‘अश्र’ भित्र विशाल बालेन

एकराज प्रधान

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अहिलेका आइडल पर्सन हुन् भन्दा फरक नपर्ला । युवाहरु विदेश भाँसिरहेका बेला देशमा आशा जगाउने युवा नायकका रुपमा उनी उदाएका छन् । गफले होइन, कामले देश बन्छ, बनाउनु पर्छ भन्ने सोच राख्ने उनी मेयर हुनुअघिर् याप लेख्ने रर् याप गाउने छविबाट परिचित थिए ।

काठमाडौँको मेयर बनेसँगै राम्रा कामहरुमार्फत् देशैभरि छाएका बालेन अहिले फेसबुक स्टाटसबाटै सोच परिवर्तन गराउन सक्ने सामर्थ्य राख्छन् । फेसबुकमा झन्डै १९ लाखले बालेनलाई पछ्याइरहेका छन् । बालेन नाम आफैँमा एक ब्रान्डको रुपमा विकसित हुँदै गइरहेको छ ।

उनले फेसबुक स्टाटसबाटै आफ्नो पुस्तक बजारमा ल्याएको घोषणा गरे । कविता संग्रह ‘अश्र’ बुक हिल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । यो कृतिको उनले न विमोचन गरे, न कुनै प्रचारप्रसार । एउटा स्टाटसमार्फत् जानकारी गराएको भरमा पुस्तक हारालुछको अवस्थामा बिक्री भयो ।

पुस्तकको सुरुवातमै उनको कालो चश्मासहितको फोटोको निधारमा लेखिएको छ ‘… पाप र पीडाबीच एउटा अर्को कवि जन्मिन्छ ।’ जसलाई प्राक्कथनका रुपमा बुझ्न सकिन्छ । पुस्तकमा न विषयसूची छ, न कुनै कविताको शीर्षक । एकदमै फरक ढङ्गमा प्रस्तुत यो कृतिमा फरक ढङ्गको चारवटा शृङ्गारिक कविताले विभाजन गरेको अनुभूत गराउँछ । जहाँबाट फरक अध्यायको सुरुवात भएको बुझ्न सकिन्छ ।
कविताहरु पढिरहँदा कता के लय नमिलेजस्तो पनि लागिरहन्छ । कविताहरु अनायस मनमा उद्वेलित भावनाहरुलाई यसै पोखे जस्तो पनि लाग्छ । कुनै नियम परिधिको सीमा छैन । कविताको लयमा नबुझिएका कतिपय हरफहरुलाईर् यापको लय समात्न सके मजा लिन सकिन्छ ।

अश्रमा निक्कै गहिरो विम्ब प्रतीकको मिश्रण छ । यसमा भेटिने लाइनहरु सरसर्ती पढ्दा एक अर्कासँग कुनै तुक सम्बन्ध नै नभए जस्तो पनि लाग्छ, तर गहिरिएर भाव बुझे फराकिलो सोचमा र्पुयाइदिन्छ । बुझाइ र गहिराइको पाटोबाट हेर्दा यो पुस्तक कसिलो लाग्छ । कविताको भाव बोक्ने स्केचहरुले हरेक पानालाई सुन्दर बनाएको छ ।

कृतिमा प्रेमको गहिराइमा डुबुल्की मार्न सकिन्छ । शृङ्गारिक शब्दहरुदेखि आँखाहरुमा निदाएका सपनालाई ब्युँझाउने कोसिस पुस्तकले गरेको छ । पुस्तकले हारेको मनलाई हिम्मत दिने काम गर्छ, आँट दिन्छ । चार लाइन, पाँच लाइन, छ लाइनका सटिक कविताहरु छन् जसले छोटोहरफमै विशाल कुरा बोलेका छन् । झट्ट पढ्दा कता कता स्वाद नआए पनि बालेनको शब्द चयन र त्यसको ओजपूर्ण प्रयोगबाट उनको लेखनीको फलोअर्स बढ्ने पक्का छ ।

‘माया गर्छु भन्दैमा
बरफको महल नसजाउनू
मुटुको जलनले पगाल्छ एक दिन
गाह्रो अनि आफूलाई सम्हाल्न एक छिन्’

पुस्तकमा उनले यौवनका कुरालाई पनि शालीन ढङ्गमा प्रस्तुत गरेका छन् । खासगरी यो पुस्तकले प्रेमिल मनहरुको ढुकढुकी बन्ने हैसियत राख्छ । मिठा अनि सटिक लाइनहरुले सम्बन्धहरुलाई बलियो बनाउने क्षमता राख्छ ।
पुस्तकले मनको कुरा गर्छ, धर्मसँगै विद्रोहको कुरा गर्छ । बालेन कतै पाठकलाई सम्झाइबुझाइ गर्छन् अनि कतै बोझिलो प्रश्न तेर्स्याउँछन् ।

पुस्तक पढिरहँदा हामीले प्रत्यक्ष देखेको बालेनभन्दा बालेनभित्रको भावना अझै विशाल पाउँछौँ । अश्रले बालेनलाई फरक ढङ्गमा पनि हेर्न सकिन्छ । जति उनी देखिएका छन्, त्यो बढी नै आशा, अपेक्षा यो कृति पढिसकेपछि उब्जिएर आउँछ । उनीभित्र रहेको जीवन दर्शन चेत, समाजका दुश्मनहरुप्रतिको विद्रोही भावना, संस्कार संस्कृतिलाई हेर्ने दृृष्टिकोण, देशप्रेम जस्ता अनेक कोणहरुबाट बालेनलाई बुझ्न सकिन्छ । उनी लेख्छन्,

‘न्याय नाङ्गिन थालेपछि
कानून अपराध छोप्न थाल्छ ।’

उनका यस किसिमका हरफहरुले केवल आजको अवस्थालाई मात्र चित्रित गर्दैन, सँगै भविष्यको चिन्तन पनि गर्छ ।
समग्रमा अश्र आफैँमा विद्रोह हो । हिन्दी शब्द ॅअश्र’को अर्थ हुन्छ, रगत मिश्रित आँशु । उनले रगतको आँशु बगाइरहेकाहरुको पीडालाई केन्द्रमा राखेर अश्रको सिर्जना गरेका छन् । जसको अन्त्य उनी पुस्तकमा मात्र होइन, असली जीवनमा पनि चाहन्छन् ।

प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार  १० : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]